राजा ज्ञानेन्द्र सडकमा आउनु हुन्न र उनलाई सडकमा तान्नु हुन्न !
■ केशवप्रसाद भट्टराई
१. सडकमा र सामाजिक संजालमा केही व्यक्तिहरू राजा ज्ञानेन्द्रलाई सरकार र वर्तमान व्यवस्थाविरूद्ध सडकमा आउन आग्रह गर्न थालेका छन् ।
सडक आन्दोलनको लागि खर्च भर्नसमेत राजालाई भन्न थालेका छन् ।
मेरो विचारमा यो गलत हो ।
राजसँस्थाको पुनर्स्थापना राजा ज्ञानेन्द्रको निजी सवाल होइन ।
यो राष्ट्रिय हित, एकता, अखण्डता र सुरक्षाको सवाल भएकोले यसलाई उनको व्यक्तिगत सरोकारको विषयको रूपमा लिइनु हुन्न ।
त्यसैले यसको लागि उनको व्यक्तिगत पहल र आर्थिक लगानीको अपेक्षा गरिनु गलत हो ।
यसलाई कुनै पार्टीको टिकट लिएर चुनावमा खडा हुने चरित्रको राजनीतिको रूपमा बुझिनु हुन्न ।
२. असंगठित र विना कुनै स्पष्ट पहिचानका सानो-ठूलो समूहबाट सडकमा पोखिने असन्तोषको बलमा मुलुकमा राजतन्त्रको पुनर्स्थापना सम्भव छैन ।
कथं पुनर्स्थापना भइगए सडकमा पक्ष र विपक्ष भएर आएको राजसँस्थाले देशलाई एकताको सूत्रमा जोड्न सक्दैन ।
राष्ट्रको अपेक्षा धान्न सक्दैन ।
राजा ज्ञानेन्द्रको वहिर्गमन र राजसँस्थाको विदाइका लागि मुलुक भित्र र बाहिरका जुन–जुन शक्ति जिम्मेवार थिए, तिनै शक्तिले पारस्परिक सहमति निर्माण गरेर नेपालमा राजसंस्थालाई पुनर्स्थापना गर्न सक्दछन्
र, यो उनीहरूको स्वेच्छाको सवाल होइन, उनीहरूको साझा हित र सरोकारको विषय पनि हो ।
३. हामीले स्वीकार गरे पनि र नगरे पनि अर्को महत्वपूर्ण पक्ष के रहेको छ भने नेकपा र नेपाली काङ्ग्रेस जस्ता दलहरूका मुलुकभर राजनीतिक संरचना छन् ।
असल वा खराब रूपमा स्थापित नेतृत्व छ ।
स्थानीय तहदेखि केन्द्रिय तहसम्मको सरकार उनीहरूको नियन्त्रणमा छ ।
उनीहरूको पक्षमा क्रियाशील विस्तारित र बलियो स्वार्थ-समूह र लाभग्राही सन्जाल छ ।
राज्यको संविधान, ऐन, कानुन र राज्य अङ्ग र संरचनाहरूमा उनीहरू छन् ।
उनीहरूको प्रभाव, वर्चस्व र नेतृत्वअन्तर्गत छन् ।
आफ्नो विपक्षमा राजा र राजाका समर्थकहरू आएको देखिने बित्तिकै आपसी मतभेद भुलेर उनीहरू एकजुट हुन्छन् ।
देश र विदेशमा स्थापित र बलिया राजनीतिक दलहरूविरूद्ध हाल सडकमा र सामाजिक सन्जालमा सुनिने नेतृत्वविहीन असंगठित आवाजहरूको भरमा परिवर्तन सम्भव छैन ।
४. नेपालको इतिहास स्पष्ट छ- नेपालका सबै राजनीतिक परिवर्तन, आन्दोलन, क्रान्तिहरूको देखिने नेतृत्व राजनीतिक दलहरूले गरे ।
प्रत्यक्ष वा पर्दापछाडि रहेर केही ठूला वाह्य शक्तिहरूले त्यसको संयोजन गरे ।
साधन–स्रोत जुटाए, नियन्त्रण र व्यवस्थापन गरे ।
मर्ने र मारिने नेपाली भए तर मराउने विदेशी भए ।
ती आज पनि नेपालमा निर्णायक रूपमा शक्तिशाली नै छन् ।
राजा महेन्द्र जस्ता राजाले पनि तिनका अगाडि आफ्ना पक्षका दलको चुनाव खर्चको लागि हात थापेको,
कालापानीमा भारतीय सेनालाई बस्न दिन परेको र
सिआइएलाई खम्पा विद्रोहीहरूको पक्षमा सैन्य सहयोग गर्न समेत मन्जुरी दिन परेको हाम्रो इतिहास छ ।
स्मरणीय छ, उपत्यकामा विमानस्थल बनाएर विमानमार्फत तिब्बत र मुस्ताङमा रहेका खम्पा विद्रोहीहरूलाई त्यस्तो सैन्य सहयोग उपलब्ध गराइएको थियो ।
बीपी, सुवर्ण, गणेशमान र किसुनजी जस्ता नेताहरू किनारा लागेको लाग्यै हुनु परेको इतिहास छ ।
दरबारभित्रै एक-एक गरेर दरबारले नै सेना भित्रबाट छानी-छानी ल्याएर राखेका हजारौँ सुरक्षाकर्मीहरू माझका राजा वीरेन्द्रको सिङ्गो परिवार सखाप भएको इतिहास छ ।
गफ गरेर हुन्छ ? कुनै विदेशी मुलुकको सचिव स्तरको कर्मचारी आएर नेपाली सेनाको प्रमुख नेतृत्व र नेतृत्व मण्डललाई तिमी राजाको पक्षमा कि हाम्रो पक्षमा भनेर थर्काएको पनि इतिहास छ र, राजसँस्थाको इतिहाससँगै जोडिएको,
राजसँस्थाले नै स्थापना गरेको नेपाली सेनाले आफ्नो परमाधिपतिको आदेश उल्लंघन गर्ने तर ती विदेशी मुलुकको सचिवसमक्ष आत्मसमर्पण गरेको इतिहास हो हाम्रो ।
५. त्यो स्थितिमा कुनै परिवर्तन भएको छैन ?
हुन पनि सक्दैन ।
हामीलाई मन परे पनि र नपरे पनि भारत, चीन, अमेरिका, बेलायत, नर्वे, डेनमार्कलगायतका युरोपियन युनियनका मुलुकहरूले नेपालका राजनीतिक दल, तिनका भातृसँस्था र ती निकटका वौद्धिक समुदायलाई प्रयोग गरेर राजा हटाए र धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा स्थापना गराए ।
तिनै दल आज पनि मुलुकमा निर्णायक हैसियतमा छन् ।
त्यसैले कम्तीमा भारत, चीन र अमेरिकाको विश्वास र समझदारीमा नेपालका प्रमुख राजनीतिक दलहरूको सहमतिमा मात्रै राजसँस्थाको पुनर्स्थापना सम्भव छ ।
नेपाल र क्षेत्रीय सुरक्षा र स्थिरताको लागि पनि त्यसले योगदान पुऱ्याउँछ ।
त्यसैले ढिलो–चाँडो राजसँस्थाको पुनर्स्थापनाको सम्भावनालाई नकार्न सकिन्न ।
तर समयपूर्व राजा ज्ञानेन्द्रलाई सडकमा ल्याइयो, तानियो, उनलाई मुछियो भने त्यो सम्भावना हराउन पनि सक्दछ ।
६. त्यसैले नेपालको भविष्य सुरक्षित बनाउन,
मुलुकको स्वतन्त्रता, सुरक्षा, एकता, शान्ति, अखण्डता र प्रजातन्त्रको रक्षा नेपाल र नेपालीको आवश्यकता हो र त्यो राजसँस्थाको निष्पक्ष र सन्तुलित राष्ट्रिय नेतृत्वबाट मात्रै सम्भव छ भन्ने कुरा नेपालका प्रमुख राजनीतिक दलहरूले बुझ्न र त्यसलाई अंगिकार गर्न अब धेरै ढिलो नगर्लान् ।
आफ्नै अस्तित्व रक्षाको लागि पनि त्यो उनीहरूको लागि अपरिहार्य बनिसकेको देखिन्छ ।
क्षेत्रीय शान्ति र स्थिरताको लागि भारत, चीन र अमेरिका जस्ता मुलुकहरू पनि त्यसमा सहमत हुँदै गरेका नहोलान् भन्न सकिन्न ।
७. निष्कर्षको रूपमा, मनमा गाँठो पारेर हामी सबैले बुझ्नु पर्दछ- राजा ज्ञानेन्द्रको महत्वाकांक्षाको लागि राजसँस्था चाहिएको होइन ।
र, उनमा त्यो महत्वाकांक्षा पनि देखिन्न !
उनले चाहेर वा नचाहेर हुने र नहुने पनि होइन ।
उनको मायाले पनि होइन ।
मुलुकको मायाले हो ।
यो राष्ट्रको आवश्यकता हो ।
राजा ज्ञानेन्द्रलाई वा राजपरिवारको अर्को सदस्यलाई राजसिंहासनमा स्थापना गर्नको लागि नभएर यो मुलुकको एकता, अखण्डता, सामाजिक र जातीय सद्भाव सुरक्षित राख्नको लागि त्यस्तो राजसँस्था आवश्यक रहेको हो ।
मुलुकको स्वतन्त्रता र प्रभुसत्ताको अन्तिम संरक्षकको रूपमा संवैधानिक राजसँस्था यो मुलुकको प्रथम आवश्यकता हो ।
राजा नेपालको सुरक्षा आवश्यकता हुन् !
रणनीतिक आवश्यकता हुन् !
नेपालको जटील र विशिष्ट भूराजनीतिक अवस्थामा राजा मुलुकको लागि अपरिहार्य हुन् ।
तर निजी लगानी गरेर सडकमा पक्ष र विपक्ष बनेर आउने राजाले ती आवश्यकता र खाँचो धान्न सक्दैनन् ।
८. अर्को कुरा माथि पनि भनिसकिएको छ- राजा मुलुकको लागि मात्र नभएर मुलुकको प्रजातन्त्र र दलहरूको सुरक्षाको लागि पनि आवश्यक छन् ।
हिजोको इतिहासले पनि सिद्ध गरेको छ- प्रचण्ड, बाबुराम, विप्लवहरूको संरक्षण र भविष्यको सुरक्षा कवच पनि हुन् राजा !
जन असन्तोषलाई राजाहरूले जति सम्मान र मर्यादा कुनै राजनीतिक नेतृत्वले नदिएको पनि इतिहास छ हाम्रो ।
उनले जति न्याय र निष्पक्षताको धर्म कुनै दलीय सरकारबाट निर्वाह हुन नसकेको अनुभव हामीसँग छ ।
९. उदाहरण हाम्रैसामू छ-
दुई बहुमतको केन्द्रिय सरकार, सातमध्ये ६ मा प्रादेशिक सरकार, बहुसंख्यक स्थानीय सरकारको नेतृत्व गरेको सरकार र सत्तारूढ दल आज कुन स्थितिमा छ ?
ठूलो परिवर्तनको, क्रान्ति र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामको आजको हैसियत के हो ?
महान् (?) क्रान्ति र जनयुद्धको नेतृत्व गरेको त्यो माओवादी दल कहाँ छ आज ?
किन विसर्जनमा जानु पऱ्यो ?
ऐतिहासिक र तीन वटा ठूला आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस आज कुन स्थितिमा छ ?
राजा ज्ञानेन्द्र एक्लै रानीलाई साथमा लिएर गाडीमा मेची–महाकाली जहाँ पनि निर्धक्क घुम्न सक्छन्, उनलाई हटाएको दाबी गर्ने प्रचण्ड त्यसरी हिँडडुल गर्न सक्छन् ?
१०. यी प्रश्नको उत्तर नै राजसँस्थाको अपरिहार्यता हो ।
प्रतिक्रिया