रहेनन् कांग्रेस नेता राजेन्द्र खरेल

रहेनन् कांग्रेस नेता राजेन्द्र खरेल


पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेताको रुपमासमेत चिनिएका खरेल पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए ।

काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा गएराति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए । महेश पाँचखाल नगरपालिकाका प्रमुख हुन् ।

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भएका थिए ।

स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।