गाँजा सेवन गरेको अभियोगमा हास्य कलाकार पक्राउ

गाँजा सेवन गरेको अभियोगमा हास्य कलाकार पक्राउ


टेलि–प्रोगामहरूमार्फत् लोकप्रियता हासिल गर्न सफल भारतीय हास्य कलाकार भारती सिंहलाई भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । भारती र उनका श्रीमानलाई लागुऔषध सेवन तथा कारोबारको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार भारती सिंह र उनका श्रीमानको प्रोडक्शन हाउसका साथै निवासमा छापा मार्दा केही मात्रामा लागुऔषध गाँजा फेला परेको र उक्त सवुत प्रमाणसहित उनहिरूलाई हिरासतमा लिइएको सम्बद्ध अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चामाध्यमहरूले जनाएका छन् । उनीहरूको साथबाट ८६.५ ग्राम गाँजा बरामद भएको जनाइएको छ ।

सिंह दम्पतिले आफूहरूले लागूऔषध सेवन गरेको कुरा स्वीकार गरेका जानकारी दिँदै एनसीबीका अधिकारीहरूले सोधपछका लागि दुवैलाई हिरासतमा लिइएको प्रेसलाई बताएका छन् ।

लागूपदार्थको सेवन तथा कारोबारका बारे पछिल्लो समय मुम्बईमा सरोकारवाला निकायले अत्यन्त कडाइ गर्दै आएको छ । केही दिनअघि एनसीबीको टोलीले अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारेको थियो ।

केही महिनाअघि आत्महत्या गरेका भनिएका फिल्म अभिनेता सुशांत सिंह राजपूत प्रकरणमा लागूऔषधको उल्लेख भएदेखि एनसीबीले धेरै औषधि पसल सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको छ भने बलिउडसम्बद्ध जानेमानेका कलाकारहरूलाई समेत सोधपुछ गरिएको छ ।