सपनामा अझै कति तैरिरहने ?

सपनामा अझै कति तैरिरहने ?



अत्यन्त अस्वाभाविक र अविश्वसनीय तवरमा एकताको शङ्खघोष गरेर तत्कालिक नेकपा एमाले र माओवादी दलले ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’को जामा पहिरिएको र कथित एकीकरण प्रक्रियाबाट गुज्रँदै आजको दिनसम्म आइपुग्दा सत्तासीन यो दल असमझदारी, अविश्वास, बिग्रह र फुटकै सङ्घारसम्म उभिन पुगेको जगजाहेर छ । त्यतिबेला एमाले र माओवादी भनेर चिनिएका दुवै दल नामले कम्युनिष्ट भनिए पनि स्वभाव, शैली, चरित्र या विशेषताका कोणबाट नदीका दुई किनार जस्तै थिए । यस्तो नितान्त भिन्न सोच-शैलीयुक्त दलबीच एकीकरण भएको सन्दर्भलाई जानिफकारहरूले आरम्भदेखि नै अविश्वास, अस्वीकार र आलोचना गरेका हुन् । तोरी र कोदोको मिसावट झट्ट हेर्दा उस्तै देखिए पनि तिनका अलग गुण त कायमै हुन्छ र त्यस्तो मिसावटबाट न शुद्ध तेल प्राप्त हुन्छ न त पिठो नै । एमाले-माओवादी मिलनको सन्दर्भमा यस्ता तर्क निकै गरिए, तर विश्लेषकहरूले आक्षेप र आलोचना खेप्नुपर्‍यो । कृत्रिम एकताको दुर्अभीष्ट निर्भिकताका साथ औंल्याउने कतिपयले सत्ताधारी दलको तारो नै बन्नुपर्‍यो, परिरहेको छ ।

यसका बाबजुद आमनेपाली, खासगरी पछिल्लो आमनिर्वाचनका मतदाताले ‘एकीकृत’ नेकपाप्रति विश्वासको वर्षात् नै गरिदिए । त्यतिबेला मतदाता र तमाम नेपालीजनमा उक्त दलप्रति विश्वास र अपेक्षा यसरी जागृत भइदियो कि नेपालको इतिहासमै पहिलो पटक ‘कम्युनिष्ट’ पार्टीलाई झण्डै दुई तिहाईको जनमत हासिल भइदियो । कारण- तथाकथित ‘जनयुद्ध’बाट अतिसार प्रताडित हुँदै सामान्य जीवनमा फर्कंदै गर्दा पुनः राजनीतिक अस्थिरताको हुण्डरीले नेपाली जनतालाई वाक्क-दिक्क पारिरहेको थियो । स्थिरता र विकास सबैको प्राथमिक चाहना बन्न पुगेको थियो ।

विश्वका समृद्ध मुलुकका नागरिक जस्तै सुखी-सम्पन्न जीवन बाँच्ने मृगतृष्णामा जेलिएका नेपालीसामु एमाले-माओवादी नेतृत्वले नक्कली नै भए पनि अङ्कमाल जो प्रदर्शन गरिदिए, कृत्रिम नै भए पनि जनता भुलाउने मुस्कान जो छोडिदिए र, असम्भव वा असाध्य काम-कुरालाई तत्काल नै गरेर देखाइदिने दाबीका साथ विकास र समृद्धिका फेहरिस्त पत्यारलाग्दो ढङ्गले मिठासपूर्ण लवजमा तिनले जनसमक्ष हावासरि फैलाइदिए । अबचाहिँ स्थिरता र विकासको मार्ग अवरुद्ध गर्न कुनै तागतले पनि सक्दैन भन्ने विश्वास जागृत भयो जन-जनको मन-मुटूमा । वर्तमान ‘शासक दल’लाई प्राप्त अध्यधिक मत त्यसैको द्योतक थियो ।

शासकहरूले देखाएको सपनामा अझै तरङ्गित भइरहने कि दलदलबाट बाहिर निस्कन प्रयत्न पनि गर्ने ?

तर, यति धेरै आशा, अपेक्षा र विश्वास गरिएको दलको सुरताल, शैली-व्यवहार, शासकीय क्षमता र प्रवृत्तिले तमाम नेपालीलाई निराश मात्र होइन, विछिप्त नै तुल्याएको छ । स्थिरता, विकास र समृद्धिका निम्ति नभई फगत सत्ता हत्याउनका लागि उक्त कृत्रिम मिलापको नौटङ्की रचिएको रहेछ भन्ने तल्लो तप्काका नागरिकले पनि भरपुर बुझिसकेका छन् ।

सत्ता र शक्तिका लागि नभई बाचानुरुप देश र जनताको मान, शान र समृद्धिकै निम्ति थियो भने जनता झन्-झन् दयनिय अवस्थातर्फ ओर्लने तर शासन-सत्तामा रहेका पात्र, सत्ताधारी दलका नेता र तिनका खास-खास कार्यकर्ताहरू मात्र सम्पन्न-सुखी देखिँदै जाने असमान अवस्था पक्कै पैदा हुने थिएन । कोरोना महामारीले विश्वलाई नै आक्रान्त तुल्याउनुको परिणतिस्वरुप तहसनहस बन्न पुगेको अर्थ-जीवन र सरकारको नालायकीका कारण मौलाइरहेको महँगीको मारमा जनता यसरी पिल्सनुपर्ने थिएन । सबै किसिमको प्रहार ब्यहोर्दै आएका नेपालीले पछिल्लो चरणमा स्वास्थ्यसम्बन्धी जुन जटिलता, अभाव र पीडा झेल्नु परिरहेको छ र, अभिभावकीय भूमिका निर्वाहमा सरकारले जुन संवेदनहीनतापूर्ण व्यवहार प्रकट गरिरहेको छ, यसले पनि बलियो सरकार निर्माण गरी शान्त र सुखी जीवन बाँच्ने नेपाली-सपनालाई नराम्रोसँग स्खलित गरिदिएको छ ।

यी सबै परिणतिका बाबजुद प्रधानमन्त्री अझै दाबी गरिरहेछन् कि देश समृद्धितिर नै अघि बढिरहेको छ । एकतिर आफ्नै दलभित्रबाट सरकारको बाटो छेक्ने काम भइरहेको गुनासो प्रधानमन्त्री केपी ओली गरिरहेका छन् भने सँगसँगै जनतालाई सपना देखाउने कर्ममा पनि उनले बिराम लगाएका छैनन् । प्रतिपक्षी दलबाट समेत अपेक्षा गर्न नसकिने कोटीका अवरोध ‘नेकपा’कै एकथरि नेताहरूबाट भइरहेको छर्लङ्ग छ र, पाँचवर्षे अवधि गुज्रिन लागिसकेको छ । अहिलेसम्मको कामकुराले स्पष्टै पारिदिएको छ कि बाँकी अवधिको परिणति कस्तो देखापर्ने छ !

जनतालाई आश देखाएर हरदम सत्ता-शक्तिको लालसामा लड्दै समय गुजारिरहेका तथाकथित नेता वा नेतृत्वलाई चिनिसकेर पनि उचित ‘सवक’ सिकाउन नसक्ने नेपाली विशेषणधारी नेपालवासी अब त जुर्मुराउनैपर्ने हो ! शासकहरूले देखाएको सपनामा अझै तरङ्गित भइरहने कि दलदलबाट बाहिर निस्कन प्रयत्न पनि गर्ने ?- निचोडमा पुग्नैपर्ने समय भइसकेको छ ।