सामान्य बन्दै द्विपक्षीय सम्बन्ध

सामान्य बन्दै द्विपक्षीय सम्बन्ध



केही साताअघिसम्म असामान्य र अस्वभाविक स्थितिमा रहेको नेपाल–भारत सम्बन्ध अनपेक्षित किसिमबाट सुधारोन्मुख हुँदै गएको छ ।

२०७७ सालको आरम्भदेखि नै चिसिएको सम्बन्ध नेपालले नयाँ नक्सा जारी गरेपछि ‘फ्रिजिङ प्वइण्ट’मा पुगेको थियो । सामान्य सम्वादसमेत शुरु हुन नसकेकोमा गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दूत पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद शुरु गरेपछि दुई पक्षीय सम्बन्धमा न्यानोपन बढ्न सक्ने सम्भावना देखापरेको हो ।

यसैबीच भारतीय प्रधानसेनापतिको भ्रमणले सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन सहयोग पु¥याएको थियो । भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्ग्लाको नेपाल भ्रमणले सम्बन्धलाई थप सामान्यीकरण गर्ने विश्वास गरिएको छ । मङ्सिर ११ र १२ गते नेपाल भ्रमणमा रहँदा दुई पक्षीय समस्या समधान र आपसी हितका विषयमा छलफल हुने कार्यक्रम निश्चित गरिएको छ ।

गत वर्षको चैतदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल-भारत सम्बन्ध विदेशसचिवको भ्रमणले सीमासहित अन्य समस्याहरूमाथिको छलफल खुला गर्ने बताइएको छ । त्यसैले श्रृङ्ग्लाको भ्रमण दुई पक्षीय सम्बन्धमा कोशेढुङ्गा सावित हुन सक्ने विश्वास गरिएको छ ।

विदेश सचिव श्रृङ्ग्लाले नेपालका परराष्ट्रसचिव भरतराज पौडेलसँग विशेष वार्तालाप गर्ने कार्यक्रम रहेको छ । यसबाहेक परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेटघाट हुने बताइएको छ । भ्रमणकै समयमा भारतबाट नेपाललाई प्राप्त भएको कोरोना नियन्त्रणसँग सम्बन्धित सामग्री पनि हस्तान्तरण गरिने कार्यक्रम छ ।