‘राजा फर्काएपछि मात्र घरजम गर्ने अठोट’

‘राजा फर्काएपछि मात्र घरजम गर्ने अठोट’



राजाका नाममा राजनीति गर्नेहरूको बिल्लीबाठ

देशका विभिन्न ठूला शहरहरूमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै भब्य मोटरसाइकल र्‍याली हुन थालेपछि राजाका नाममा राजनीति गर्दै आएको राप्रपाका नेताहरूमा छटपटी बढेको पाइएको छ । वीर गोर्खाली अभियानको नाममा हुने गरेको र्‍याली कसको नेतृत्व र लगानीमा भइरहेको हो भन्ने जानकारी पाउन न प्रशासनले सकेको छ न राजाका निकटवर्तीहरू तथा राजाबाट विगतमा लाभ प्राप्त गर्दै आएकाहरूले नै यसको भेउ पाउन सकेका छन् । तर भब्य र्‍यालीको क्रेडिट (जश) लिने होडबाजी भने श्रीषशमशेर राणादेखि वर्तमान सङ्घीय, गणतान्त्रिक, जातिवादी तथा धर्मनिरपेक्ष संविधानलाई विश्वकै उत्कृष्ट दाबी गर्ने तत्कालिक परराष्ट्रमन्त्री कमल थापासम्मले प्रयास गरिरहेका छन् । मोटरसाइकल र्‍यालीहरूमा मानिसको सहभागिता बढ्न थालेपछि संस्थापन पक्ष सचेत भएको छ र गृहमन्त्रालयले कडा निगरानी राख्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

गत कात्तिक १७ गते बुटवलमा आयोजित र्‍यालीमा मानिसहरूको ब्यापक सहभागिता भएपछि देशैभरि त्यसको तरङ्ग पैदा भएको छ । त्यसपछि कात्तिक २२ गते वीरगञ्ज, २७ गते विराटनगर, मङ्सिर १० गते पोखरा र १४ गते हेटौँडा तथा नेपालगञ्जमा आयोजित र्‍यालीमा पनि मानिसहरूको ब्यापक सहभागिता थियो । वीर गोर्खाली अभियानका नाममा भइरहेका कार्यक्रमहरूमा पछिल्लो समय शिव सेना, शाही शक्ति आदि नामका समूहले पनि आफ्नो उपस्थिति जनाउने गरेको पाइएको छ । तर यी कार्यक्रमहरूमा एटीएफ नेपाल नामक सङ्गठनको प्रमुख र नेतृत्वदायी भूमिका रहेको छ, जसको संयोजक सन्तोष राजावादी (सिलवाल) रहेका छन् ।

धादिङ घर भएका सन्तोष एक अविवाहित युवा राजनीतिकर्मी हुन् र उनले राजालाई सिंहासनमा राखेर श्रीपेच पहिर्‍याएपछि मात्र विवाह गरेर घरजम गरिबस्ने अठोट गरेको बताइन्छ । सन्तोष कुनै पनि दलमा आवद्ध छैनन् र अहिलेसम्म राजासँग समेत कुनै सम्पर्क/सम्बन्ध नरहेको बुझिएको छ । आयोजित कार्यक्रमहरूमा हुने गरेको उत्साहजनक सहभागितालाई निरन्तरता दिन मङ्सिर १८ गते दाङ र सुर्खेत, २२ गते बारा, २६ गते तनहुँ, २३ गते गौर तथा २० गते झापा र चितवनमा वृहत र्‍याली गरिने भएको छ ।

र्‍यालीको मूख्य आयोजक संस्था वीर गोर्खाली अभियान राजसंस्था पुनर्स्थापना भएलगत्तै भङ्ग गरिने, तर एटीएफ (एनि टाइम फोर्स) लाई चाहिँ त्यसपछि पनि निरन्तरता दिइने बताइएको छ ।

वीर गोर्खाली अभियानको सक्रियतापश्चात सबैभन्दा ठूलो सङ्कट राप्रपामा देखापरेको छ । अभियानले राप्रपासँग कुनै साइनो र सरोकार नराखेको मात्र होइन, कमल थापा र राप्रपालाई पूर्ण अवज्ञा नै गर्ने गरेको छ । तथापि झापामा हुने कार्यक्रममा राजेन्द्र लिङ्देनको सक्रियतालाई भने अभियानले स्वागत गरेको बुझिन्छ । लिङ्देनलाई एक इमानदार, सिद्धान्तनिष्ठ जनप्रतिनिधि भएकोले अभियानले उनको सक्रियतालाई स्वागत गरेको बताइएको छ । कार्यक्रममा पुराना राष्ट्रवादी नेता किशोरी महतोको सक्रिय सहभागितालाई पनि सम्बद्ध पक्षले सकारात्मक रुपमा लिएको छ ।

विशाल र्‍यालीहरूको जश लिने र राजालाई ‘बहादुरी देखाउने’ प्रयासमा कमल थापा र श्रीषशमशेर राणासहित केही व्यक्तिहरू लागेका भए पनि उनीहरूलाई अहिलेसम्म सफलता मिलेको छैन । हिजो राजा बचाउन नसक्नेहरूबाट राजसंस्था पुनर्बहालीमा कुनै योगदान हुन नसक्ने ठहर सम्बद्ध आयोजक पक्षले गरेको छ ।