निर्मल निवासमा कोरोना पसेपछि…

निर्मल निवासमा कोरोना पसेपछि…



विगत वर्षका जाडो समयमा प्रायः तराई जानुहुने पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र सपरिवार यसपटक लामो समय नगरकोट बस्न बाध्य हुनुको कारण थाहा भएको छ ।

नगरकोटस्थित होटल सम्बद्ध सूत्रका अनुसार निर्मल निवासमा कार्यरत केही कर्मचारी तथा सहयोगीहरूलाई कोरोना पोजेटिभ देखिएपछि राजपरिवार खस्थायी बसोबासका निम्ति नगरकोट गएको हो । नगरकोटमा पूर्व श्री ५ ज्ञानेन्द्र, रानी कोमल, पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्र १५ दिन बसेर फर्कनुभएको छ ।

राजाका दुई नातिनीहरू पूर्णिका र कीर्तिका बैंककमा अध्ययन गरिरहेका छन् । नाति हृदयेन्द्रलाई पनि बैंकक अध्ययनका लागि पठाइएको थियो तर उनले आफ्नै देशमा अध्ययन गर्ने जिकिर गरेपछि कलेज भर्ना नगरी फर्काइएको हो । अहिले हृदयेन्द्र काठमाडौंमै अध्ययन गरिरहेका छन् । कोरोना भाइरसबाट बच्न परिवारका साथ नगरकोट पुगेका उनले होटलबाट आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए । अहिले धेरै स्कुल/कलेजहरूले भर्चुअल कक्षा लिइरहेका छन् ।

प्राप्त जानकारीअनुसार निर्मल निवासमा भान्सामा काम गर्ने कर्मचारीहरूदेखि पालेसम्मलाई कोरोना पोजेटिभ देखिएको थियो । भान्सामा काम गर्ने एक जना कर्मचारी दशैँलगत्तै बिरामी भएपछि कोरोना टेष्ट गराउँदा अन्य कर्मचारीहरूलाई पनि देखिएपछि उनीहरूको औषधिउपचार र खानपिनको उचित ब्यवस्था गरेर राजपरिवारले निर्मल निवास छोडेको थियो । कोरोना पोजेटिभ भएका सबै कर्मचारीहरूलाई निवासमै ‘आइसोलेसन’को ब्यवस्था गरिएको थियो । भान्से, मालीलगायतका कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि राजपरिवारसँग दुई वटा विकल्प थियो, कर्मचारीहरूलाई घर पठाउने या आफै घर छोडेर बाहिर बस्ने । अप्ठ्यारो परेको अवस्थामा कर्मचारीहरूलाई घर पठाउन मनासिव नदेखेर राजपरिवार आफैं घर छोडेर होटलमा बस्न एको बताइन्छ ।

कर्मचारीहरूको १५ दिनको ‘आइसोलेसन’ सकिएपछि दशैँ र तिहारको बीचमा नगरकोट बसेका राजपरिवारका सदस्यहरू तिहारको टीका लगाउन काठ्माडौं फर्किएका थिए । यस घटनाबाट बिरामी र अशक्त भएको बेलामा सहयोगीहरूले निर्मल निवासमा आफ्नोपनको महसूस गरुन् भन्ने कुरामा राजपरिवार सचेत रहेको स्पष्ट हुन्छ । अहिले सबै सहयोगीहरूको स्वास्थ्य ठीक भइसकेको छ र उनीहरूले आ-आफ्ना काम सम्हालिसकेका छन् ।

तिहारमा राजा ज्ञानेन्द्रले विगतमा झैँ बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहको हातबाट उहाँकै निवासमा टीका लगाउनुभएको थियो । यसपटक मिडिया र बाहिरका कुनै पनि मानिसहरू बोलाइएको थिएन । त्यस्तै दशैँमा पनि बडागुरुज्यु र गुरुज्युबाहेक बाहिरबाट कोही मानिस निम्त्याइएको थिएन । कोरोना भाइरसको महामारीका कारण छोरी प्रेरणा र ज्वाइँ राजबहादुरबाहेक निर्मल निवासमा टीका लगाउन अरुलाई निम्त्याइएन । विगतमा झैँ यसपटक शाही नातेदारहरू तथा सर्वसाधारणले राजारानीको हातबाट टीका लगाउन पाएनन् ।