रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो ।
रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्र्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले मन्त्रीलाई जानकारी गराएका छन् । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको रुसी प्रतिनिधि मण्डलले जनाएको छ ।
राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । यस्तै, नेपालमा विद्युत र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो रहेको बताइएको छ ।
रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभको भनाइ थियो ।
सो अवसरमा मन्त्री पुनले नेपाल र रुसको कूटनीतिक सम्बन्धको लामो इतिहास रहेको चर्चा गर्दै ऊर्जा क्षेत्रमा समेत गहिरो सम्बन्ध रहेको बताए । नेपालकै तेश्रो पुरानो २.४ मेगावाटको काभ्रेस्थित खोपासी जलविद्युत केन्द्र रुस सरकारको सहयोगमा २०२२ सालमा (६० वर्षअघि) निर्माण भएको र उक्त आयोजनाबाट हालसम्म पनि विद्युत उत्पादन भइरहेको जानकारी मन्त्री पुनले गराएका थिए । सो भेटमा राजदूत नोभिकभका साथै लान्टा बैंक र मस्को इन्डस्ट्रि«यल बैंकका उच्च अधिकारीका साथै रुसमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का सस्थापक डा. उपेन्द्र महतो, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी र स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का महासचिव गोरे शेर्पा सहभागी थिए ।
प्रतिक्रिया