तीन अवस्थामा मात्र नेकपा ‘एक’ हुन सक्ने
अप्रत्याशित कुनै नयाँ घटनाले स्थिति परिवर्तन नगरेमा नेपाल कम्युनिष्ट पार्टीको एकता जोगिने सम्भावना क्षीण हुँदै गएको छ । पहिले दुईमध्ये एउटा पद त्याग गर्न केपी शर्मा ओलीमाथि दबाब दिने प्रचण्ड पक्षले अहिले अध्यक्ष र प्रधानमन्त्री दुवै पद त्याग्नुपर्ने अडान लिएको छ । जसरी भए पनि केपीलाई दुवै पदबाट हटाइछाड्ने अठोटका साथ सक्रिय प्रचण्ड पक्षले पहिले प्रधानमन्त्रीबाट र त्यसपछि अध्यक्षबाट पनि हटाउने र केपीको राजनीतिक भविष्यमा पूर्णबिराम लगाइदिने मानसिक, राजनीतिक र भौतिक तयारी गरेको छ ।
केपी पार्टी विभाजन गर्न सक्ने हैसियतमा नरहेको, प्रधानमन्त्री पदबाट मुक्त भएपछि सबैले केपीको साथ छोड्ने र नेकपा विभाजित तथा कमजोर नहुने विश्लेषण केपीविरोधी पक्षको छ । दुवै पदबाट हट्न दबाब पैदा गर्ने, दुईमध्ये एउटा छोड्ने अवस्थामा पुऱ्याउन सकेमा प्रधानमन्त्री पद छोडाउने र अध्यक्ष पद कायम राखिदिने, त्यसपछि अध्यक्ष पदबाट पनि केपीलाई हटाउने र, परिस्थिति अनुकुल भएपछि केपीसमर्थक सबै मूख्यमन्त्री तथा राष्ट्रपतिसम्म बदल्ने रणनीतिक योजनामा प्रचण्ड पक्ष रहेको जानकारी प्राप्त भएको छ । हाल एक नं. प्रदेशका शेरधन राई, बागमति प्रदेशका डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका शङ्कर पोखरेललाई ओलीसमर्थकका रूपमा लिइन्छ ।
यसरी केपी ओली र उनको पक्षको राजनीतिक अस्तित्व नै सम्पूर्ण रूपले समाप्त गर्ने तयारी प्रचण्ड पक्षबाट भएको जानकारी प्रधानमन्त्री केपीलाई पूर्ण रूपले रहेको बताइन्छ । त्यसैले कुनै पनि अवस्थामा राज्य र पार्टीको सत्ता प्रचण्ड पक्षमा जान नदिन केपी प्रतिबद्ध रहेका छन् । सरकार र पार्टीको नेतृत्व परिवर्तनबारे आफ्नो धारणा स्पष्ट गर्दै केपीले भन्ने गरेका छन्- ‘आगामी चैत (२०७७) मा महाधिवेशन गरौँ र अध्यक्ष बदलौँ, प्रधानमन्त्री बदल्न आउँदो संसदीय निर्वाचनसम्म धैर्य गरौँ ।’ ओलीको यस्तो प्रस्तावप्रति पार्टीभित्रको प्रतिपक्ष सकारात्मक हुन सकेको छैन ।
महाधिवेशनमा केपी अध्यक्ष पदको उम्मेदवार नबने पनि माधवकुमार नेपाल र प्रचण्ड दुवै जना अध्यक्ष पदको प्रतिष्पर्धी बन्ने निश्चित छ । अहिले महाधिवेशनमा जाँदा प्रचण्ड र माधव नेपालबीचको गठबन्धन टुट्ने र केपीको समर्थन पाउनेले मात्र अध्यक्ष पदमा बाजी मार्ने सम्भावना भएकोले केपीको राजनीतिक भविष्यमा पूर्णबिराम लगाएर मात्र महाधिवेशन गराउने कुरमा प्रचण्ड र माधव सहमत भएका छन् । त्यसैले तत्काल महाधिवेशन गराएर अध्यक्ष बदल्ने केपीको प्रस्ताव अमान्य हुन पुगेको छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नयाँ पुस्तालाई हस्तान्तरण गर्न राखेको प्रस्तावमा पनि प्रचण्ड पक्षले रुचि लिएको छैन । आफूसहित प्रधानमन्त्री भइसकेका माधव नेपाल, प्रचण्ड र झलनाथ तथा बामदेव गौतमले पार्टी-राजनीतिबाट अवकाश लिने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव केपीले लिखित रूपमै राखेका छन् । तर अवकाश लिने कुरामा प्रचण्ड, माधव, बामदेव र झलनाथ कोही पनि तयार भएनन् । एउटा कार्यदल बनाएर दुवै प्रतिवेदनबारे छलफल गरी सर्वमान्य प्रतिवेदन तयार गर्ने र त्यसनिम्ति बैठक केही दिनपछि सार्ने भनी रामबहादुर थापाले राखेको प्रस्तावमा केपी सहमत भए पनि प्रचण्ड पक्ष असहमत रह्यो ।
सरकार र पार्टीको नेतृत्व परिवर्तनबारे आफ्नो धारणा स्पष्ट गर्दै केपीले भन्ने गरेका छन्- ‘आगामी चैत (२०७७) मा महाधिवेशन गरौँ र अध्यक्ष बदलौँ, प्रधानमन्त्री बदल्न आउँदो संसदीय निर्वाचनसम्म धैर्य गरौँ ।’ ओलीको यस्तो प्रस्तावप्रति पार्टीभित्रको प्रतिपक्ष सकारात्मक हुन सकेको छैन ।
दुई पक्षबीच चरम अविश्वासको स्थिति पैदा भएको छ र, सहमति हुन सक्ने कुनै पनि एजेण्डा सतहमा देखापरेको छैन । नयाँ पुस्ताका नेताहरू पनि तटस्थ रहेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने भूमिकामा छैनन् । दोस्रो र तेस्रो पुस्ताका नेताहरू समेत एक–एक नेतालाई समात्ने र उचाल्ने भूमिकामा देखिएका छन् । अहिले नै केपीलाई विस्थापित गरी पार्टी र राज्यको सत्ता हातमा लिन नसक्ने हो भने आगामी संसदीय निर्वाचनमा स्थिति सङ्कटग्रस्त हुने, टिकट वितरणमा केपीले ‘ज्यादति’ गर्ने र आफूहरूको बिल्लीबाठ हुने त्रास र आशङ्का प्रचण्ड पक्षमा रहेको बुझिन्छ । त्यसैले चुनावको मुखैमा विभाजित हुनुभन्दा विभाजन नै हुनुपरे पनि अहिले हुनु उपयुक्त हुने विश्लेषण प्रचण्डहरूको छ । यसरी हेर्दा नेकपा अब एकतावद्ध रहने सम्भावना अत्यन्त क्षीण भएको देखिन्छ । सामान्य किसिमबाट नेकपामा एकता बहाल हुनसक्ने आशा गर्न सकिँदैन ।
अप्रत्याशित सम्भाव्य घटनाबाहेक तीन अवस्थामा मात्र नेकपाको ऐक्यवद्धता कायम रहन सक्ने छ । पहिलो, नयाँ पुस्ताका सबै नेता एक भएर बुढा पुस्तालाई विस्थापित गर्न अग्रसर भएमा, दोस्रो, वर्तमान संविधान तथा सत्ता विस्थापित हुने खतरा पैदा भएमा र, तेस्रो, पश्चिमा मुलुक या चीनले विशेष दबाबको स्थिति पैदा गर्न सकेमा मात्र नेकपाको एकता पुनर्बहाली हुन सक्ने देखिन्छ । उल्लिखित तीनवटै सम्भावना यतिबेला देखापरिहेको छैन ।
त्यसैले नेकपामा एकताभन्दा विभाजनको सम्भावना अधिक रहेको छ र, दुवै पक्षभित्र एकता भन्दा विभाजनकै मानसिकता प्रबल भएर गएको छ । विभाजनको दोष आफूमाथि नलागोस् भन्ने कुरामा मात्र दुवै पक्ष सचेत रहेका छन् । पहिले हात अर्को पक्षले छोडे हुन्थ्यो भन्ने सोच दुवैतिरको छ । पौष ५ गते हुने भनिएको स्थायी समितिको बैठकले पनि कुनै चमत्कार देखाउन सकेन भने आगामी केही साताभित्रै नेकपा विभाजित हुने सम्भावना छ ।
प्रतिक्रिया