२० वर्षको प्रतीक्षापछि महेशबाबुको गीतमा रामकृष्णको आवाज

२० वर्षको प्रतीक्षापछि महेशबाबुको गीतमा रामकृष्णको आवाज



■ राजन घिमिरे

करोडौँ श्रोतालाई आफ्नो आवाजमार्फत मन्त्रमुग्ध पार्ने गायक/गायिकाहरूको पनि आफ्नै कथाब्यथा हुन्छ । मनभित्र पीडा र ब्यथा लुकाएर श्रोताहरूका लागि खुल्नुपर्ने सर्जकहरूको यस्तै जीवन भोगाई र उतारचढावका बारेमा महेशबाबु तिमल्सिनाले तयार पारेको गीतमा गायक रामकृष्ण ढकालले आवाज प्रदान गरेका छन् ।

बिहीबार रेकर्ड गरिएको यो गीतमा अजर जंगमको संगीत रहेको छ भने संगीत संयोजन किरण कँडेलले दिएका छन् ।

सुस्केरामा सुसाउँदा पीडा, दुःख, व्यथाहरू
आँसु झर्छन् आँखाबाट गीत बन्छन् कथाहरू…
आफ्नै जीवन सिध्याएर प्रभात ल्याउने शीतसरी
छताछुल्ल पोखिदिन्छु आफैंलाई म गीतभरी…

गीतकार महेशबाबुले एउटा स्रष्टाको आत्मा, भावना र पीडालाई गीतमा उतार्न सफल भएका छन् भने यो गीतमा रामकृष्णको आवाजले झनै ज्यान भरेको छ । त्यसो त आजभन्दा २० वर्ष अगाडि महेशबाबुले यो गीत लेखेका थिए भने २० वर्षअगाडि यो गीत रामकृष्ण ढकालले नै गाउनु पर्ने आफ्नो सपना २० वर्षपछि आएर पूरा भएकोमा महेशबाबु पनि निकै दंग छन् । ‘रामकृष्णजीको आवाज पर्दा गीतले जति न्याय पाउँछ, अरूको आवाजमा त्यति नहुन पनि सक्दथ्य । मैले लेखेको गीतमा रामकृष्णजीको आवज पर्नु मेरो लागि सौभाग्य हो ।’- गीतकार महेशबाबु तिमिल्सिना दंग छन् ।

गीतको भाव उच्चकोटीको रहेको र मन छुने सिर्जना भएकोमा गीत मर्मस्पर्शी हुनेतर्फ गायक रामकृष्ण ढकाल पनि ढुक्क छन् । उनले भनेका छन्- ‘एउटा सुन्दर गीत रेकर्ड गरेका छौँ । निकै उत्कृष्ट गीत बन्नेछ र छिट्टै तपाईंहरूले सुन्न पाउनुहुनेछ । गायकको जीवनमा आइपर्ने उतारचढावलाई राम्रोसँग समेटिएको भाव यस गीतमा छ। कतिपय कठिनाइ र भोगाइसमेतलाई टपक्क टिपेर वास्तविक जीवनसँग तुलना गरि लेखिएको यो गीत निश्चय नै फरक धारको बनेको छ ।’