देशब्यापी प्रदर्शनमा शान्तिपूर्ण सहभागिताका लागि देउवाको अपिल

देशब्यापी प्रदर्शनमा शान्तिपूर्ण सहभागिताका लागि देउवाको अपिल


नेपाली कांग्रेसद्वारा सरकारविरुद्ध आज गरिन लागेको देशव्यापी प्रदर्शनमा एकता, जाँगर र नवीन उत्साह साथ सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुका साथै समस्त लोकतन्त्रवादीमा अपिल गरेका छन् ।

७७ वटै जिल्लामा एकसाथ गर्न लागिएको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेको भन्दै सभापति देउवाले सक्रिय सहभागिताका लागि आग्रह गरेका हुन् ।

देउवाले एक अपिल सार्वजनिक गर्दै भनेका छन्- ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’

नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको भन्दै देउवाले कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिने र जनताको वितृष्णालाई सम्बोधन गर्न सशक्त ढंगले अघि बढ्ने बताएका छन् ।

प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपिल गर्दै उनले कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि तरुण कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

आफ्नो विज्ञप्तिमा देउवाले भनेका छन्, ‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’

‘तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको छ । कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।’

‘कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज । खेतिको बेला मल नपाएर छट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक । ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना ब्यवसायीदेखि ठुला उद्योगीसम्म । रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदुर सम्भावना नदेखिरहेको युवा । शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्, प्रश्न बोकि रहेका छन् र आक्रोश पोखिरहेका छन् । यी सबैको पीडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ । नेपाली जनताको हरेक क्षेत्र, वर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्नेछ ।’

कांग्रेस मुलुकमा आइपरेका हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल भन्दै सभापति देउवाले सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने दाबी गरेका छन् ।

ज्ञात रहोस्, कांग्रेसले आज काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा वृहद कार्यक्रमको आयोजना गर्दैछ । काठमाडौं क्षेत्र नम्बर १ को जुलुस भृकुटीमण्डपबाट जुलुस निस्कने छ भने क्षेत्र नम्बर २, ३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५, ६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले वसन्तपुर तथा ९ र १० ले शहीदगेटबाट जुलुस निकाल्नेछन् ।

जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुनेछ ।

प्रदर्शनमा काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरुको सहभागिता रहने कांग्रेसले जनाएको छ ।