लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर महानगरपालिकाको सहयोगमा आयोजना गरेको स्थानीय तथा विकास पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा वक्ताहरूले स्थानीय सञ्चारमाध्यमलाई बलियो बनाउन राज्यका सबै तहले समान अवसर र सहयोगको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले लोकतन्त्रमा सबै सञ्चारमाध्यमलाई समान व्यवहार हुनुपर्ने बताए । कुन सञ्चारमाध्यमले सरकारी विज्ञापन पाउने वा नपाउने भन्ने निर्णय राज्यले गर्न नहुने उनको भनाइ थियो । उनले स्थानीय सरकार स्थानीय सञ्चारमाध्यमसँग सहकार्य गर्न सकारात्मक रहेको पनि बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वीरेन्द्र ओलीले स्थानीय सञ्चारमाध्यम अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए । स्थानीय सञ्चारमाध्यम बलियो भए मात्रै स्थानीय सरकारका गतिविधि प्रभावकारी रूपमा नागरिकसम्म पुग्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशकी कार्यवाहक अध्यक्ष रोजिना थापाले सञ्चारमाध्यमको दिगोपनसँग पत्रकारको रोजगारी प्रत्यक्ष रूपमा जोडिएको बताइन् । सञ्चार संस्था सबल भए मात्रै पत्रकार सुरक्षित र व्यावसायिक रूपमा काम गर्न सक्ने उनको तर्क थियो ।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले सरकारी सूचना र विज्ञापन वितरणमा सबै सञ्चारमाध्यमलाई समान अवसर दिनुपर्ने धारणा राखे । निजी तथा स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने कुनै पनि नीति लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नहुने जिकीर उनले गरे ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले स्थानीय सञ्चारमाध्यमले नागरिकका आवाज, स्थानीय विकास र समुदायका मुद्दा उजागर गर्दै आएको उल्लेख गरे । त्यसैले नियमनका नाममा स्थानीय मिडियालाई सरकारी सूचना र विज्ञापनबाट वञ्चित गर्न नहुने धारणा उनले राखे ।
ललितपुर महानगरपालिकाकी प्रेस कोअर्डिनेटर रमा लुइँटेलले नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्थानीय सञ्चारमाध्यमसँग सहकार्य गर्दै क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गरिन् ।
महासंघ ललितपुरका सहसचिव सौगात मिश्रका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय तथा विकास पत्रकारिता, समाचार लेखन, स्थानीय सरकारसँगको समन्वय, विकासका मुद्दाको खोजी तथा व्यावसायिक पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइनेछ।
प्रतिक्रिया