पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काङ्ग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।
यस सिलसिलामा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले २०७४ सालको चुनावका बेला ‘कम्युनिष्टले जिते रुन पनि पाइँदैन’ भनी भविष्यवाणी गरेको कुरा अहिले सत्य सावित भएको बताए ।
मकावनपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले त्यतिबेला आफूले दिएको अभिव्यक्ति केपी शर्मा ओली नेतृत्वको सरकारको व्यवहारसँग मेल खाएको जिकिर गरे । सरकारले गरेको नराम्रो कामविरुद्ध अहिले कोही रोयो भने सरकारको विरुद्धमा रोएको भनेर पक्रने अवस्था सिर्जना भएको उनको तर्क थियो ।
देउवाले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको आरोप पनि लगाए । सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको दाबी गर्दै सभपाति देउवाले सडकमा राजतन्त्रको पक्षमा आन्दोलन बढ्दै जानुले प्रधानमन्त्री ओली नै राजवादीसँग मिलेको हो कि भन्ने आशंका उत्पन्न भएको भन्न समेत भ्याए ।

यता काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान र व्यवस्थालाई कमजोर बनाउन लागिपरेको आरोप लगाए ।
सरकारविरुद्ध आक्रोश पोख्दै उनले सरकार भ्रष्टाचारमा लागेको र जनताबाट टाढा भएको कुरा विपक्षीले भनिरहनु नपर्ने तर्क गरे । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो प्रस्तावमाथि सङ्केत गर्दै पौडेलले नेकपाकै बहुमत नेताले सरकारलाई भ्रष्टाचारी भनेको अभिव्यक्ति दिए । पौडेलले भने- ‘कम्युनष्टि पार्टीका बहुमत नेताले भ्रष्टाचारी भनिसके, अब हामी कसैले भनिरहनै परेन । ट्रान्सपरेन्सीले भनेको छ, महालेखाले पनि भनेको छ ।’

यसैगरी सभापति देउवासँगै हेटौँडा पुगेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ‘सुतेको बाघ’लाई जिस्क्याउने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिए । १ लाख रुपैयाँ अस्पतालमा जम्मा गर्न नसकेर ज्यान गुमाउने नेपालीको जिम्मेवार को हो भन्दै प्रश्न उठाउन काङ्ग्रेस सडकमा आउनुपरेको उनको भनाइ थियो ।
प्रवक्ता शर्माले किन सरकारले कोरोना परीक्षण दर बढाएन, किन क्वारेन्टिन व्यवस्थापन भएन, किन काठमाडौंको सडकमा सुर्यबहादुर तमाङलगायतले भोकभोकै ज्यान गुमाए ? काङ्ग्रेस यस्तै प्रश्न गर्न सडकमा आएको अभिव्यक्ति दिए ।

उता धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै काङ्ग्रेस केन्द्रिय सदस्य गगन थापाले राष्ट्रिपतिलाई काठमाडौमा आफूसँग चुनाव लड्न चुनौती दिए । राष्ट्रिपतिले शीतल निवासमा बसेर आफ्नो गरिमा बिर्सिएको आरोप उनको थियो । मदन भण्डारीको शब्द सापटी लिएर उनले भने- ‘महारानी ! सितलनिवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, काठमाडौंमा आफूसँग चुनाब लड्न तयार होइबक्स्योस् ।’
उनले बर्तमान सरकारलाई पटक-पटक सच्चिन सुझाव दिए पनि नसच्चिएकाले बाध्य भएर सडकमा आउनु परेको थापाको भनाइ थियो ।

यस्तै, विराटनगरको महेन्द्रचोकमा आयोजित कोणसभामा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले तीन वर्षसम्म सरकारले राम्रो काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले कांग्रेस सडकमा आएको बताए । अहिले भ्रष्टाचार सगरमाथाको उचाइभन्दा पनि माथि पुगेको भन्दै डा. कोइरालाले भने– ‘अहिले सगरमाथाको उचाइ बढेको छ, त्यो भन्दा बढी भ्रष्टाचारको उचाइ बढेको छ ।’
प्रतिक्रिया