किन बस्न सकेन संवैधानिक परिषदको बैठक ?

किन बस्न सकेन संवैधानिक परिषदको बैठक ?



१३ महिनादेखि संवैधानिक परिषद्को बैठक नबस्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायत गरी करिव चार दर्जन संख्यामा संवैधानिक निकायमा प्रमुख तथा सदस्यहरू नियुक्त हुन सकेका छैनन् । दल एवम् शीर्षतहका नेताहरुबीच भागबण्डा नमिल्दा बैठक बस्न नसकी संवैधानिक आयोगका प्रमुख तथा सदस्यहरुको नियुक्ति रोकिएको हो ।

यस्तो महत्वपूर्ण विषयमा आजका लागि डाकिएको बैठक पुनः अलपत्र परेको छ । गत आइतबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि स्थगित भएको थियो । पछि देउवाले बैठकमा उपस्थित हुने जनाउ दिएपछि आज बिहानका लागि प्रधानमन्त्रीले बैठक बोलाएका थिए ।

लामो समयपछि संवैधानिक परिषदको बैठक बस्न लागे पनि सत्तारुढ दलका एक अध्यक्ष पुष्पकमल दाहाल यसप्रति असन्तुष्ट रहेको चर्चा चल्दै आएको थियो । आफूले चाहेका व्यक्तिलाई, खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने प्रचण्डको चाहना रहँदै आएको बताइन्छ । तर, प्रधानमन्त्री ओलीले उनको चाहनाअनुसार नियुक्ति नदिने भएकाले बैठक नै बस्न नदिने खेलमा उनी संलग्न रहँदै आएका नेकपासम्बद्ध सुत्र बताउँछ ।

फलतः आफ्ना विश्वासपात्र सभामुख अग्नि सापकोटालाई प्रचण्डले ओलीविरुद्धको हतियारको रुपमा प्रयोग गरेका छन् । आज बोलाइएको बैठकमा सभामुख सापकोटा अनुपस्थित रहे । आफू मात्र अनुपस्थित नभई सापकोटाले शेरबहादुर देउवालगायतलाई समेत बैठकमा उपस्थित नहुने भनी पहिले नै खबर पठाएका बुझिएको छ । सभामुख नै उपस्थित नहुने भएपछि अन्योलमा परेका देउवा भने अन्ततः बैठकमा उपस्थित भएका थिए । तर, सभामुख नै उपस्थित नभएपछि आज पनि परिषदको औपचारिक बैठक बस्न सकेन ।

बताइएअनुसार सभामुख सापकोटाले बैठकको एजेण्डाबारे जानकारी उपलब्ध नगराइएको भन्दै आफू अनुपस्थित हुने जानकारी गराएका थिए । बैठकको रोस्टर उपलब्ध नभएको बहाना बनाइए पनि प्रचण्डको चाहनाअनुसार सापकोटाले बैठक बहिष्कार गरेको सम्बद्ध स्रोत बताउँछ । यसरी, सत्तारुढ दलभित्र चलिरहेको गुटगत खिचातानीको असर संवैधानिक परिषदमाथि समेत परेको छ ।