नरोकिने भए प्रधानमन्त्री !

नरोकिने भए प्रधानमन्त्री !



अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त प्रमुख आयुक्त तथा आयुक्तको नियुक्तिसम्बन्धी विषयलाई लिएर सत्तारुढ दलभित्र उत्पन्न विवाद थप गहिरिने सम्भावना बढेको छ । नियुक्तिका निम्ति पटक–पटक आयोजित संवैधानिक परिषदको बैठकमा कोरम नपुगेपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ ।

परिषद्मा प्रधानमन्त्रीसहित पाँच सदस्य उपस्थित नभए फोरम नपुगेको मानिने प्रावधान भएको र बैठकमा सभामुख र विपक्षी दलका नेता पटक-पटक अनुपस्थित भएपछि संशोधित अध्यादेश जारी गर्नु परेको बताइएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, विपक्षी दलको नेता, राष्ट्रियसभाको अध्यक्ष, सभामुख र कानूनमन्त्री रहने व्यवस्था छ र, पाँच जना सदस्य उपस्थित नहुँदा परिषदको बैठक नै बस्न नसक्ने स्थिति भएकोले बहुमतका आधारमा संवैधानिक नियुक्ति गर्ने मार्गप्रशस्त गर्न अध्यादेश जारी भएको हो । अध्यादेश जारी भएलगत्तै मङ्गलबार साँझ परिषदको बैठक बस्यो । यसै बैठकबाट संवैधानिक नियुक्तिहरू गर्ने विषय प्रवेश भएको छ ।

ज्ञात रहोस्, अख्तियारमा प्रमुख विपक्षी नेता शेरबहादुर देउवाले अवकाशप्राप्त उच्च प्रहरी अधिकारी जयबहादुर चन्दको नाम आयुक्तका निम्ति धेरै पहिले नै सिफारिश गरेका थिए । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलिप रेग्मीको नाम पनि सम्भाब्य व्यक्तिका रूपमा अगाडि आएको थियो । प्रमुख आयुक्तमा पूर्वसचिवहरू सूर्य सिलवाल र प्रेमकुमार राईको नाम केही अगाडिदेखि नै चर्चामा रहेको छ । दुवै पूर्वसचिवहरू उक्त जिम्मेवारीका निम्ति उपयुक्त मानिए पनि प्रेम राई धेरैको रोजाइमा परेका छन् । प्रचण्ड र माधव नेपाल प्रेम राईबाहेकका व्यक्तिलाई अख्तियार प्रमुखको रूपमा हेर्न चाहन्छन्, तर दुवै नेता सूर्य सिलवालको पक्षमा झनै नरहेको बताइन्छ । अख्तियारमा आफ्ना मानिसको नियुक्ति गर्ने र आफूलाई सुरक्षित राख्ने परम्परा २०६३ सालपछि बसेको छ ।

अख्तियारमा दीप बस्नेत नामक व्यक्तिको प्रवेशपछि त्यहाँभित्रै घुसखोरी र भ्रष्टाचार ब्याप्त हुन थालेको थियो । बस्नेतकै शैलीलाई नवीन घिमिरेले पनि पछ्याएका थिए । आर्थिक मामिलामा स्वच्छ मानिएका प्रेमकुमार राईको नियुक्ति भएमा अख्तियारभित्र बस्नेत र घिमिरेले गरेको फोहोर सफा हुने विश्वास गरिएको छ ।

अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूको नियुक्ति प्रक्रिया सहज भएपछि नेकपाका नेताहरू प्रचण्ड र माधव नेपाल भने झस्किने स्थितिमा पुगेका छन् । सत्तामा हुनेले बलियो अस्त्रका रूपमा प्रयोग गर्न सक्ने हुनाले प्रचण्ड-माधव त्रसित भएको बताइन्छ ।