कीर्तिमान राख्दै प्रचण्ड !
कुनै चमत्कार भएन भने नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निश्चित भएको छ । आगामी संसदीय निर्वाचनसम्म पार्टीको एकता जोगाउन नसकिने ठहर दुवै पक्षका नेताहरूले गरेका छन् । आगामी निर्वाचनको मुखैमा पुगेर विभाजित हुनुभन्दा अहिले नै पार्टी विभाजन गर्नु उपयुक्त हुने निष्कर्षमा प्रचण्डपक्ष पुगेको छ । निर्वाचनसम्म स्थिति स्पष्ट हुने र, चुनावमा सहभागी हुन सजिलो हुन सक्ने विश्लेषण भएपछि प्रचण्डपक्ष विभाजनको तयारीमा जुटेको हो ।
उनीहरूले सबैभन्दा पहिले युवा तथा विद्यार्थीहरूको छुट्टै भेला गरी विभाजनको अभ्यास गरेका थिए । विद्यार्थी फाँटमा क्रियाशील तर रहश्यमयी मानिने रामकुमारी झाँक्रीलगायतका प्रचण्डपक्षीय युवाहरूको आयोजनामा काठमाडौंको थापाथली क्याम्पसमा भएको भेलालाई अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले सम्बोधन गर्नुभएको थियो । सो भेलामा ‘जबज’ र केपीसमर्थक कसैलाई पनि आमन्त्रण नगरिएको बताइन्छ । त्यसपश्चात ‘माओवादी कार्यालय’ पेरिस डाँडामा प्रचण्डहरूले बागमति प्रदेशको आफ्नो पक्षका इञ्चार्ज, केन्द्रीय सदस्य, पार्टीका जिल्ला अध्यक्ष र सचिवहरूको भेला गरे । उक्त भेलामा प्रचण्ड र माधव नेपाललगायतका नेताहरू सहभागी भएका थिए ।
भेलालाई सम्बोधन गर्दै प्रचण्ड र नेपालले विभाजनपश्चात पनि मनोबल दह्रो बनाइराख्ने आशयका सन्देश दिएका थिए । पेरिसडाँडाको भेलापश्चात पार्टीमा विभाजनको रेखा धेरै नै गहिरो हुन पुग्यो र, यसको सन्देश पनि देशब्यापी बनेको छ । आम कार्यकर्तासमेत एकताभन्दा विभाजनकै मानसिकतामा देखापर्न थालेका छन् ।
यसरी प्रचण्डपक्षले छुट्टै भेला गरी विभाजनको अभ्यास गर्न थालेपछि केपीपक्षले पनि युवाहरूको छुट्टै भेला आयोजना गर्न शुरु गरेको छ । मङ्सिर २० गते मोरङमा केपीपक्षका युवाहरूको भेला भयो, जहाँ पूर्वका १४ जिल्लाका अगुवा युवा कार्यकर्ताहरूको सहभागिता थियो । गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा भएको भेलामा करिव साढे दुई हजार युवाहरूको सहभागिता रहेको बताइन्छ । मोरङमा केपीपक्षको भेला भएकै भोलिपल्ट झापाको दमकमा प्रचण्डपक्षको भेला भयो, जहाँ प्रदेशका अर्थमन्त्री र नेता महेश रेग्मी मूख्य वक्ताका रूपमा सहभागी भएका थिए । अब केपीपक्षले देशैभरी युवा र विद्यार्थीहरूको भेला गर्ने तयारी गरेको छ । निकट भविष्यमै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र दुई नम्बर प्रदेशमा युवा भेलाको आयोजना गर्न लागेको बुझिएको छ । अर्कोतिर प्रचण्डपक्षले पनि सबै प्रदेशहरूमा आफ्ना निकटकाहरूको भेला तथा बैठकहरू राख्दै जाने योजना बनाएको छ ।
विभाजनको मानसिकता र भौतिक तयारी गरिसकेपछि पनि केन्द्रीय स्तरमा बैठकहरू भने भइरहेका छन् । ‘पहिला कसले हात छोड्छ’ या ‘हात छोडेको’ आरोप लगाउन पाइन्छ भन्ने कुराले विभाजनपछिको राजनीतिमा खास माने राख्ने हुनाले केपीपक्ष प्रचण्डहरूकै ‘हात पहिले उठोस्’ भन्ने चाहन्छ, यस्तै चाहना प्रचण्डपक्षको पनि हो । तर जति ढिला गऱ्यो त्यति नै आफूलाई क्षति पुग्ने निष्कर्ष निकाल्ने प्रचण्डपक्ष अब धेरै लामो समय धैर्य गर्ने मानसिकतामा देखिँदैन । त्यसैले अबका बैठकहरूमा प्रचण्डपक्ष अलिक आक्रामक बन्ने र केपीविरुद्ध कारबाहीको कुनै पनि निर्णय लिन सक्ने सम्भावना बढेको छ ।
विभाजनपश्चात केपीपक्षले ‘जबज’, मदन भण्डारी र सूर्य चिन्ह आफ्नो स्वामित्वमा लिने निश्चित मानिएको छ । जबज र मदन भण्डारी प्रचण्डपक्षलाई नचाहिएको भए पनि सूर्य चिन्ह छोड्ने मानसिकता उनीहरूले बनाएका छैनन् । चुनाव चिन्ह सूर्य जसले आफ्नो बनाउन सक्छ, उसको पक्षमा एमालेका धेरैजसो अगुवा नेता तथा कार्यकर्ता उभिने भएकोले पनि चुनाव चिन्हको विषयलाई लिएर दुई पक्षबीच ठूलै ‘सङ्घर्ष’ चल्ने अवस्था देखापर्दै छ । निर्वाचन आयोगमा यसअघि नेकपा एमाले नाममा पार्टी दर्ता भएको छ र, उसले उदाउँदो सूर्यलाई आफ्नो चुनाव चिन्ह बनाएको छ । अब ‘उदाइसकेको सूर्य’ चिन्ह जसले हात पार्न सक्छ त्यही दल ठूलो बन्ने विश्वास गरिन्छ ।
नेकपा विभाजनले नेपालको कम्युनिष्ट आन्दोलनलाई निकै ठूलो क्षति पुऱ्याउने देखिए पनि ‘बहुदलीय जनवाद’ र ‘एकदलीय अधिनायकवाद’का पक्षधरहरूको कित्ता छुट्टिँदा अन्ततः त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई बलियो सहयोग पुऱ्याउने सम्भावना छ ।
प्रचण्ड जुन पार्टीमा रहन्छन् त्यसैलाई तहसनहस बनाउँछन् भन्न मिल्ने पृष्ठभूमि प्रचण्डको छ । उनीसम्बद्ध पार्टी नेकपा (चौथो महाधिवेशन) विभाजन गराएर उनी २०४० सालमा नेकपा मशालको नेता बनेका थिए । त्यसपछि २०४२ सालमा नेकपा मशाल पनि फुटाएर उनी एउटा पक्षको शक्तिशाली नेता र लगत्तै महासचिव (महामन्त्री) बनेका थिए । २०४७ सालमा नेकपा एकताकेन्द्र गठन भएपछि त्यसको समेत महामन्त्री रहेका प्रचण्ड उक्त पार्टी फुटाएर २०५१ मा माओवादी विशेषणको छुट्टै कम्युनिष्ट पार्टीको मूख्य नेता बने । २०६८ सालमा मोहन वैद्यसँग अलग्गिएका प्रचण्ड २०७२ सालमा अर्का राष्ट्रद्रोहीका रूपमा चिनिएका बाबुराम भट्टराईसँग पनि अलग्गिए । एकीकरण भएको साढे दुई वर्ष पूरा नहुँदै अहिले नेकपा विभाजनको सङ्घारमै पुगेको छ ।
यसरी प्रचण्डले नेपालको इतिहासमा सबैभन्दा धेरै पटक पार्टी फुटाउन सक्ने नेताको कीर्तिमान राखेका छन् । नेकपा एमालेभित्रको एमाले कित्तामा विभाजन पैदा गर्न सक्नुलाई अहिले प्रचण्डको सबैभन्दा ठूलो सफलता मानिएको छ ।
नेकपाको विभाजन रोकिने सम्भावना अत्यन्त न्यून छ, कसरी र कहिले भन्ने यकीन नभए पनि विभाजन निश्चित हुँदै गएको छ । सत्तारुढ दलको विभाजन भएमा सिङ्गो नेपाली राजनीतिलाई यसले नयाँ अवस्थामा पुऱ्याउने पक्कापक्की छ । देश मध्यावधि निर्वाचन या राष्ट्रपति शासनसम्म पुग्ने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन । काङ्ग्रेससँग मिलेर सरकार गठन गर्ने स्थिति नरहेमा देश मध्यावधि निर्वाचन या राष्ट्रपति शासनमा जाने प्रबल सम्भावना छ ।
प्रचण्डपक्षका सम्भावित कदमहरू
(क) स्थायी समिति, केन्द्रीय समिति र सचिवालयको बहुमतका आधारमा निर्णय गरी केपी शर्मा ओलीलाई प्रधानमन्त्री (या दुवै) पदबाट राजीनामा दिन निर्देशन दिने ।
(ख) नेकपा संसदीय दलको बैठक आह्वान गरी केपीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर दलको नेता तथा प्रधानमन्त्री पदबाट बिदाइ गर्ने ।
(ग) संसदमा केपीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र मधेशकेन्द्रित दल या काङ्ग्रेससँग या दुवै पक्षसँग सत्ता-गठबन्धन बनाउँदै ओलीलाई विस्थापित गर्ने ।
(घ) केपीका विरुद्ध आफैंले अविश्वासको प्रस्ताव दर्ता नगरी मधेशकेन्द्रित दललाई अघि सारेर अविश्वासको प्रस्तावलाई मतदानसम्म पुऱ्याउने । मधेशकेन्द्रित कुनै नेतालाई प्रधानमन्त्रीका रूपमा अघि सारी एक महिनाका निम्ति प्रधानमन्त्री पनि बनाइदिने र विश्वासको मत लिने समयमा मतदान नगरी नयाँ (आफ्नै) सरकार गठनको प्रयास गर्ने ।
(ङ) काङ्ग्रेस, मधेशी या दुवै पक्षसँग सत्ता गठबन्धन गरी आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिमा जाने ।
(च) केपीलाई पार्टीबाट कारबाही गरी निष्काशनको निर्णय लिने र त्यसपछि केपीको कदम हेरेर मात्र अगाडिको निर्णय लिने ।
केपी पक्षबाट चालिन सक्ने कदमहरू
(१) बहुमत दाबी गर्ने पक्षलाई बहुमतका आधारमा निर्णय लिन सुविधा दिने र, त्यसपछि मात्र आफूले प्रतिक्रियात्मक कदम चाल्ने ।
(२) अर्को पक्षको निर्णयको स्तर तथा प्रभाव हेरेर सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको विघटन या पुनर्गठन गर्ने ।
(३) संसद विघटन गरी मध्यवधि निर्वाचनको घोषणा गर्ने ।
(४) राष्ट्रपति शासन लागु गर्न सक्ने ।
(५) काङ्ग्रेससँग आलोपालो (एक-एक वर्ष) नेतृत्व लिने गरी सत्ता गठबन्धन गर्ने ।
(छ) नयाँ पुस्ताका कुनै नेतालाई सरकारप्रमुख बनाउने र पार्टी एकता जोगाउने प्रयास गर्ने ।
उपरोक्त राजनीतिक विकल्पमध्ये कुनै पनि विकल्प रोज्न पाउने सुविधामा केपी ओली हुनुहुन्छ । अहिलेसम्मको वस्तुस्थिति र मनस्थितिको अध्ययन गर्दा प्रचण्डको माग या दबाबकै आधारमा अध्यक्ष र प्रधानमन्त्री पद त्याग गर्ने पक्षमा ओली देखिनुहुन्न । बरु अहिलेसम्म उहाँले रोकिराख्नुभएको ललिता निवास जग्गा घोटाला प्रकरण तथा लडाकुको नाममा भएको भ्रष्टाचारको फाइल आवश्यक कानुनी कारवाहीका निम्ति अगाडि बढाइन सक्ने सम्भावना छ ।
ललिता निवास जग्गा घोटाला प्रकरणमा तत्कालिक सचिव दीप बस्नेत र विजयकुमार गच्छेदारविरुद्ध मुद्दा चलिसकेको छ भने तत्कालिक प्रधानमन्त्री माधवकुमार नेपालमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने या नबढाउने भन्ने निर्णयका निम्ति अख्तियारले मन्त्रिपरिषद्मा लेखी पठाएको छ । पार्टी विभाजन हुने या भएको अवस्थामा प्रधानमन्त्री ओलीले माधव नेपालप्रति सहानुभूति दर्शाउने सम्भावना नरहन सक्छ । राजा ज्ञानेन्द्रलाई झैँ झुक्याएर सजिलैसँग दरबारबाट बाहिऱ्याएको शैलीमा केपीलाई पन्छाउने सोच प्रचण्डपक्षको हो, तर सोचिएजस्तो सजिलै केपीलाई विस्थापित गर्न सक्ने सम्भावना न्यून हुँदै गएको छ ।
प्रतिक्रिया