डडेल्धुरा अस्पतालमा आइसियु सेवा सुरु

डडेल्धुरा अस्पतालमा आइसियु सेवा सुरु



डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरास्थित डडेल्धुरा अस्पतालले आइसियूसहितको उपचार सेवा सुरु गरको छ ।

सुदुरपश्चिम प्रदेशमै संघीय सरकारमातहत रहेको एक मात्रै डडेल्धुरा अस्पतालले आवश्यकताअनुसार सेवा सुविधा विस्तार गर्दै उपचार सेवा थपेकोे छ ।

संघीय सरकारको तीन करोडको लगानीमा डडेल्धुरा अस्पताल डडेल्धुराले आइसियु वेडहरू निर्माण गरी शुक्रबारबाट सेवा सुचारु गरेको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए । संघीय सरकारको बजेटमा १५ वटा आइसियु सञ्चालन गर्ने भनिए पनि भवन अभावका कारण हाललाई ५ वेडको आइसियु सेवा सुरु गरेको उनले बताए । यसैगरी थप ६ वेडको आईसियु सेवा केही दिनमै सञ्चालन गर्ने र बाँकी चार वेडलाई भने केही समयपछि सञ्चालन गर्ने योजना रहेको अध्यक्ष ओझाले बताए ।

डडेल्धुरा अस्पतालमा डडेल्धुराले आइसियु सेवा संचालन गर्दा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका विरामीहरूलाई आइसियु कक्षमा उपचारका लागि सहज हुने भएको छ । आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै बिरामीहरू रेफर हुने गरेका थिए । तत्काल आइसीयु सेवा सञ्चालन होस् भन्नका लागि केन्द्र सरकारले बजेट विनियोजन गरेको थियो । आइसियु सेवा सञ्चालनमा आएसँगै चौबिसै घण्टा सेवाका लागि चार जनाको दक्ष मेडिकल जनशक्ति आइसियु विभागमा खटाइएको छ । हाल डडेल्धुरा अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, मानसिक रोग, सल्यक्रियासहितका विभिन्न रोगको उपचार हुने गरेको छ ।