वर्तमानको अल्लारेबहुल सरकारले कहिलेदेखि परिपक्व भई उसलाई प्राप्त विशालाकार जन-समर्थनको आभ्यासिक इज्जत र कदर गर्ने क्षमता देखाउन थाल्ला ? कि मौनताको दुर्वाेधगम्यतामै समयको अपव्यय गर्दै पदीय अवधि गुजार्ला ? पर्खनु छ ।
✍ नकुल काजी
वस्तुतः झन्नै दुई-तिहाइको जनमतले सुशोभित दलको बलियो मौजुदा सरकारको आजसम्मका ११४ दिनलाई ‘कानूनी फैसला’-हरूको आँखीझ्यालबाट चेवा गर्दा चाहिं ‘अल्लारे’ देखिनुलाई अन्यथा ठान्न सकिंदैन । यो अवस्थालाई मसिनोगरी निफन्दा न्याय-सम्पादन शिविरहरूमा पूर्व शासकहरूका वीर-मशानहरूको बिग्बिगीका जीवन्त किर्काैंला र बियाँहरूका बाधा-व्यवधान विशेष कारक भेटिन्छन्/देखिन्छन् ! सत्ताको मनमोजी रजगज खोसिएर रन्थनाएका साविक शासकदलमार्गीरू तिनै किर्काैंला-बियाँहरूलाई नै ‘बलियो बैशाखी’ ठान्ने दयनीय अवस्थामा झरेकाले पनि हुन सक्छ – तिनैका सहारामा उभिएर, मुश्किलले आफ्नो जिजीविषाको जगेर्ना गरिरहेका छन् क्यारे ! र, मौजुदा सरकारको शैशवकाललाई पनि, विशाल जनसमर्थनका बाबजुद, हलक्क हुर्किन र गन्तव्यतिर निर्वाध लम्किन सहज नभइरहेकाले उसका पाइलाहरू अल्लारे ठहरिइरहेका हुन सक्छन् ।
हालै सम्पन्न एमालेको नेतृत्वसँग सम्बन्धित आन्तरिक मत सर्वेक्षणको नतिजा प्रकाशमा आएपछि – अब चाहिं यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा विशेषतः ओलीको अहंकारी र बखेडे रोड्याइँ ठेगान लाग्छ होला कि भन्ने आशा टुसाउने खण्ड परेको थियो । यो, किनभने, उनको शिकञ्जामा परिरहँदाको ऐंठनमा फँसेका एमाले जनगण लगायतका आम नागरिकले सजिलोसँग सास फेर्न पाउने समय फर्किने सम्भावना बढेको थियो । अर्थात्, ओलीको जादूमय वाचाल सम्मोहनले सदा लल्याकलुलुक राखेको एमालेजनभित्रका केही अगुवाले स्वयम् स्वविवेकमाथि लगाइरहेका खबरदारीको ताला अब चाहिं खोलिन्छ भन्ने प्रायः सबै कित्ताका नेपालीको बुझाइ थियो । यो, किनभने, एमालेका प्रति निःस्वार्थ सम्पृक्त नेपालीको संख्या पनि अनुल्लेख्य छैन ।
अतः त्यसो हुन सकेका खण्डमा खड्ग ओलीको हुकुममा चल्न बाध्य अवस्थाको एमालेबाट सोझो-घुमाउरो कुनै किसिमले सरकारलाई लाग्ने विविध बखेडे घट्टेसी बनिरहेका तरोताजा दिनहरू न्यूनतम कर्तव्यबोधी लोकतान्त्रिक संवेदनशील बन्न पाउने बाटो सोझिएला भन्ने जनाशा थियो । र, नितान्त जन-सरोकारका विषयहरूमा ‘एमाले अनुपस्थित’ कुनै पनि लोकतान्त्रिक ढङ्गको सरकारले खड्ग ओलीकृत सधैंको गोठाले टुक्के उखाने लयका गेजु, गुल्चे, धाकधम्कीमय उकुर्जी, जिरह, अहमत्याइँ-डेउढ्याइँ, कर्कश मालिक्याइँ, रोड्याइँ-घड्घड्याइँ आदिबाट पाशित हुन नपर्ला भन्ने जनमनको प्रकटित-अप्रकटित अभीष्ट थियो । लोकतन्त्रको धर्मअन्तर्गत त्यो अभीष्ट अनुकूल लोकका व्यवहार-दैनिकी र मुलुकको मौलिक परम्परागत मौन अभिलाषा परिपूरणमा प्रत्याभूत हुनु पर्दथ्यो, ती सबै ‘काम पाइनस् बुहारी ? पोख्तै उठा !’ शैलीमा गुज्रिने क्रम त साढे तीन दशक बढी समयदेखिको शासकीय चलन बनिआएकै हो, यसमा भने ओली एक्ला छैनन् !
वर्षाैंयता ‘खड्ग ओलीको कबिला’ सरह चल्दै आएको एमाले पार्टीको किल्लाभित्रकै व्यतिरेक र विभ्रान्त पक्षले ‘यो समय’-को नेपालका लागि ओलीको ‘यही हैसियत’ पटक्कै सान्दर्भिक र स्वयम् एमाले.कै लागि समेत घातक सिद्ध हुने ‘सत्य’ सुझाउन मातहती नेताहरूलाई जाग्रत गराएका थिए । तर, त्यस फालमा पनि ओलीको ‘आफूलाई पर्दा चतुरे वकिल र अरूका लागि न्यायाधीश’ बन्ने ‘घुमाइमुखी घमण्ड’ टसमस नभई उनले मनमौजी हाँकिरहेका दलको अध्यक्ष पद छोड्दै नछोड्ने अड्डी कसेका थिए । तर, त्यसपछिको अवस्थामा क्रमशः साविकदेखि ओलीकै मातहतका निकटस्थ मानिइने पटवारी-कार्बारी-मुनिम वर्गीय अगौटाहरू समेत त्यसमा सामेल भएपछि ‘एमाले रूपान्तरण र पुनःसंरचनाका लागि पुनर्जागरण अभियान’-को उपायबाट मत सर्वेक्षण भएको थियो ।
अन्ततः सो सर्वेक्षणको नतिजाले खड्ग ओलीलाई जन-समर्थनको टिठलाग्दो स्थितिमा थेचारेर उनलाई, ‘सिंगौरी खेल्ने गोरुको सिङ भाँचिन्छै भाँचिन्छ’ भन्ने उखान झैं, दल-परिधिभित्र उनको असलियत उनैका अघिल्तिर खुल्ला पसारिदिएको थियो । अर्थात्, सो देशव्यापी सर्वेक्षणमा साविकदेखि ओलीकै झिजोले हुकुममा चलिरहेका तावेदार वर्गीय ‘संगठित सदस्य र समर्थक’-हरूमध्ये ८७.०६ प्रतिशतले नै ओलीका विरुद्ध मत जाहेर गरेका थिए र १०.०५ प्रतिशत मात्र उनको पक्ष अनुमोदनमा उभिएका थिए । कस्तो विडम्बना !
खड्ग ओलीले राज्यशक्तिको चुच्चुरोमा चार पटक आरोहण गरेका हुन् । ती लामा-छोटा अवधिका समय-खण्डहरूमा उनले उनको दललाई मात्र होइन, प्रकारान्तरमा, उनको शासकीय अभ्यासको शैलीका माध्यमबाट देशलाई नै ‘कबिलाकरण’ गरेका थिए । त्यो दुष्कर्मलाई यस देशका निर्धा-निमुखा नागरिकको अधिक आधिक्यको भावभूमिसँग संश्लेषण गरी पर्गेल्दा – त्यो कर्तुतले विश्व-इतिहासमै कुख्यात बाबर, चङ्गेज खाँ, तैमुरलङ, अब्राहम, मुसा आदिका दुरन्त कथालाई पनि मात् गर्ने हैसियत राखेको मान्नै पर्दछ ! नागरिकलाई ‘सुख’ दिए/दिलाएर देशलाई ‘समृद्धि’-ले शोभायमान तुल्याउने वकवेदान्ती ओठे भाषणका लैबरीहरूले मैदानी नागरिकसम्मलाई अक्सर मोहित गर्दै ‘अरूहरूलाई ऐन-आफ्नालाई चैन’-को आभ्यासिक माखेसाङ्लोमा जकड्दै लैजाने प्रतारणाको पीडा त आम अनुभूतिमा छिप्पिएकै छँदैछ ।
त्यसैको यहाँसम्मको पहिलो कडा विष्फोट जेन-जेड क्रान्तिलाई मान्नु पर्दछ । त्यो क्रान्तिका क्रममा के-के भए वा खड्ग ओलीसँग कुन-कुन प्रकरण कसरी-कसरी जोडिए भन्ने पनि जगजाहेरै छ – जसको बुँदागत पुनरावृत्ति आवश्यक नहोला । सत्ताधिकारको मादकताले उन्मत्त भई उक्त क्रान्तिका ७६ योद्धाका ज्यान-खुन र त्यस सन्दर्भमा जोडिने विध्वंशको, पदीय नैतिकताको हकमा, जिम्मेवार उनै थिए । फलतः उनी सत्ताच्यूत मात्र भएनन्, खुँखार खतुकी झैं भागेर लुक्नुपर्ने स्थितिमा पुगेका थिए । यति हुँदा पनि उनी रत्तिभर नधकाउनु अर्काे अझ नरमाइलो आश्चर्य जो बनिरहेकै छ ! सभ्य र श्लील विश्व-मान्यताको पृष्ठपटमा राखेर त्यो घटनाको सम्पूर्ण परिवृत्त स्मरण गर्दा ‘लाज’-का सबै अवयव उनैको पाषाण हिटलरी स्वभाव र मनोभावमा एकाकार भएर लजाइरहेका अनुभूति अहिलेसम्म मात्र किन, तिनका अन्तर्य मसिनो गरी छिन्किँदा, भविष्यसम्म पनि अटुट अनुभूत भइरहने, सयौंमध्ये एउटा, विशेष उल्लेख्य विषय बनेर रहेको छ !
यो टिप्पणीमा जनमनको अभ्यन्तरका कुराहरू हुबहु उल्लेख भएको छैन । किनभने, अहिले पनि खड्गप्रसाद ओलीको नक्कली, छली र मनिहारी ढबको श्रेष्ठता (?) प्रतिष्ठापनमा महेश बस्नेत, विष्णु रिमाल, सूर्य थापा, पद्मा अर्याल, रामकुमारी झाँक्री, ज्योति मगरदेखि बलात्कारको आरोप खेपिरहेका ऐन महर आदि जस्ता स्वार्थन्ध भक्तहरू, इण्डियन कुवैद्यले गलत ओखति बेचेको भावनात्मक शैलीमा, राजनीतिक कत्र्तव्यका हकमा पत्रु वक्तव्यका गुलेली हान्न निर्लज्ज उद्यत छँदैछन् । तिनका खोपडीमा पनि सचेतना अवश्य फुर्ला भनेर, छिनोफानो कुरा भन्नका लागि पर्खिनु परेको छ ।
पर्खाइ यतिको मात्र छैन । पाँच/पाँच पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति पनि आफ्नी ‘रानी’ समेतका अवाञ्छित कर्तुतकृत हीनभावले लत्रेर विदेशको शरणमा छन् । ती कहिले र कसरी स्वदेश फर्किने हुन् कि होइनन्, त्यो पनि कुर्नु छ ! र, वर्तमानको अल्लारेबहुल सरकारले कहिलेदेखि परिपक्व भई उसलाई प्राप्त विशालाकार जन-समर्थनको आभ्यासिक इज्जत र कदर गर्ने क्षमता देखाउन थाल्ला ? कि मौनताको दुर्वाेधगम्यतामै समयको अपव्यय गर्दै पदीय अवधि गुजार्ला ? पर्खनु छ ।…
आजलाई यत्ति नै…।
प्रतिक्रिया