खरिबोटे काकी र क्यालिफोर्नियाको चकलेट !

खरिबोटे काकी र क्यालिफोर्नियाको चकलेट !



■ सुन्दर शर्मा

‘ए नानी.. पख् त पख् !!’

एकसुरले हिँडिरहेकी म, अचानक यो आवाज कानमा ठोक्किनासाथ टक्क रोकिएँ । आवाज आएतिर मुन्टो फर्काएर हेर्दा छिमेकी खरिबोटे काकी मतर्फ लम्कँदै थिइन् । एउटा सानो चिटिक्क परेको झोला मेरो हातमा थमाउँदै भनिन्- ‘छोराछोरी भेट्न क्यालिफोर्निया (अमेरिका) गा’की थिएँ । तिमीलाई भनेर एउटा किलिप र केही चकलेट ल्याइदिएकी छु, लिउ । चकलेटचाहिँ निकै मीठो नानी । क्यालिफोर्नियाको हो क्या ! विदेशी भनेको विदेशी नै हुँदोरहेछ । यहाँ यस्तो मीठो चकलेट कहाँ पाउनु ?’ भन्दै गफ चुट्न थालिहालिन् । त्यतिबेला म त्यस्तै ७–८ क्लासमा पढ्थेँ होला । काकी अमेरिका मात्र कहिले भन्दिनथिन्, ‘क्यालिफोर्निया’ जोड्नैपर्थ्यो उनलाई ।

क्यालिफोर्नियाको कुरा गर्न थालिन् भने समय गएको पत्तै पाउँदिनथिन् । आफ्ना छोराछोरी क्यालिफोर्निया बस्ने भएर पनि होला सायद, मुक्तकण्ठले प्रशंसा गर्थिन् क्यालिफोर्नियाको । जागिरबाट अवकाश लिएपछि उतै बस्ने बताउँथिन् बारम्बार ।

खरिबोटे काकी…

गाउँमा उनको आँगनमा ठुलो खरीको बोट थियो । त्यसैले होला सायद सबै उनलाई खरिबोटे काकी भन्ने गर्थे । हिजोआज जस्तो नाम काढेर उतिबेला बोलाउन कहाँ पाइन्थ्यो र ? बन्देज जस्तै थियो । त्यसैले पल्लाघरे, राताघरे, आँपघरे, छुट्याघरे, माझघरे, डाँडागाउँले, खरिबोटे आदि जस्ता नामले सम्बोधन गर्नुपर्थ्यो ।

खरिबोटे काकाकाकीको स्वभाव अलि भिन्न थियो । गाउँघरकासँग खासै घुममिल हुन नखोज्ने । फुर्सदको समयमा पनि घरभित्रै बस्न रुचाउने । बुढापाकासँग बोल्दा आफ्नो स्तर मिल्दैन कि जस्तो सोच्थे । हम्मेसी कसैसँग बोल्ने, कुराकानी गर्ने गर्दैनथे । आफ्नो सुविधाजन्य घर, घरभित्रका विदेशी फर्निचर, विदेशी सजावटका सरसामान, फुलैफुलले सजिएको गार्डेन यस्तै–यस्तै हेर्दै मख्ख परी मुस्कुराउँदै बस्थे । उनी आफूसमान स्तर मिल्नेसँग मात्र उठबस गर्थे । कहिलेकाहीँ छिमेकीलाई केही अप्ठ्यारो पर्दा पनि उपस्थिति जनाउन खोज्दैनथे, विभिन्न बहाना बनाइ पन्छिन खोज्थे । आफ्नै सहोदर दाजुभाइ खलकसँग पनि खासै सम्बन्ध राख्न खोज्दैनथे । खरिबोटे दम्पतिलाई कुनै दिन हाम्रो पनि अप्ठ्यारो दिन आउन सक्छन् भन्ने रत्तिभर लागेको थिएन । हामी सधैं यस्तै सुखी रहिरहने छौँ भन्नेमा विश्वस्त थिए उनीहरू ।

खरिबाटे काका माथिल्लो तहको सरकारी नोकरीमा थिए । काकी पनि नेपाल बैंकमा काम गर्थिन् । काठमाडौंमा सुविधासम्पन्न महल ठड्याउन सफल थिए उनीहरू । गाउँघरमा उनीहरूको राम्रो मान सम्मान थियो । गाउँका दिदीबहिनीले हजुरहरूको भविष्य त निकै उज्यालो छ भन्दै प्रशंसा गर्दा खरिबोटे काकी प्रफुल्ल देखिन्थिन् ।

हुन पनि उनको भविष्य चारैतिरबाट उज्ज्वल नै देखिन्थ्यो । दुई छोरा र एक छोरी काठमाडौंको महँगो स्कुलमा पढ्थे । बुढाबुढी दुवै सरकारी जागिरे । काठमाडौंका विभिन्न स्थानमा घर–घडेरी जोड्न सफल । श्रीसम्पत्ति, गाडीघोडा, नोकरचाकर कुनै कुराको पनि कमी थिएन त्यो जोडीलाई ।

म अलि काचै उमेरकी थिएँ क्यारे । त्यसैले होला म सोच्थेँ कि स्वर्ग भनेको सायद यी काकीका परिवारले जिउने जीवनयापनलाई भनिन्छ होला । मलाई लाग्थ्यो– काठमाडौं भन्ने शहर हामीजस्ताको लागि बनेकै होइन, मात्र खरिबोटे काकीहरू जस्ताको लागि बनेको स्वप्नील शहर हो ।

प्रत्येक दशैँको बिदामा काकी र मेरो अलि बढी उठबस हुन्थ्यो । काकी मलाई अलि बढि नै रुचाउनुहुन्छ जस्तो लाग्थ्यो ।

यस्तैमा काकीका दुवै छोरा अमेरिका जाने भएछन् । गाविसबाट कागजपत्र बनाउन भन्दै परिवारै गाउँ आए । छोरा अमेरिका जाने खुशीमा पाँच वटा खसी ढालेर सबै छिमेकीलाई भब्य भोज खुवाए खरिबोटेले । उनीहरू खुशीले धपक्क बलेका देखिन्थे, छोराहरू झन् खुशीमा ओतप्रोत हुने नै भए । सबै छरछिमेकीले उनीहरूलाई मुरीका मुरी शुभकामना र बधाई दिए । एकजना माझघरे काकाले त खरिबोटे काकाको नजिकै गएर ‘तिमी त सारै भाग्यमानी, तिम्रा दुवै छोरा अमेरिका जाने भए । अब तिमीहरू पनि उतै बसाइँ सर्छौ होला । त्यो अमेरिका भन्ने ठाउँमा त भाग्यमानीहरू मात्र टेक्न पाउँछन् रे नि त !’ भन्दै हात सुम्सुम्याइदिएको मेरै आँखाले देखेकी थिएँ ।

छोरा अमेरिका गएको दुई वर्ष पछि छोरी पनि उतै लागिछ । यता बुढाबुढीले नोकरीबाट अवकाश लिएछन् । २–४ वर्ष उतै गई छोराछोरीसँग बस्ने योजना बनाउँदै थिए ।

छोरा अमेरिका गएको ११ वर्षपछि काकाको फोक्सोमा क्यान्सरको कारण मृत्यु भएछ । छोराछोरीले नेपाल आउन नमिल्ने बरु किरियाखर्च पठाइदिने कुरा जानकारी गराएछन् ।

जीवनको वास्तविकता…

दोश्रो लकडाउन खुलेपछि म बिरामी आफन्त भेट्न टिचिङ हस्पिटल पुगेकी थिएँ । बिरामीले भोलि डिस्चार्ज हुने बताउनुभयो । कुराकानीको शिलशिलामा उहाँले पल्लो कोठा नं. १० मा एक्ली दुःखी बिरामी रहेको बताउनुभयो । छोराछोरी सबै अमेरिका छन् रे ! यहाँ उनलाई भेट्न आउने कोही देखिनँ भन्नुभयो । बेलाबेलामा म उनीसँग कुराकानी गर्थें, अब म भोलि घर गइहाल्छु । उनीसँग बोलिदिने मानिस पनि कोही छैन । मलाई त आफ्नो भन्दा पनि त्यो बिरामीको पो चिन्ता लागेको छ भन्दै दुःखेसो पोख्नुभयो । ममा पनि त्यो बिरामीलाई भेट्ने कौतुहल जाग्यो र उनको कोठातिर लागेँ । म भित्र पस्दा उनी घुँडाटेकी घोप्टो परेकी थिइन् ।

आमा कस्तो छ हजुरलाई भन्दै भित्र पसेँ । टाउको उठाउँदै उनले मतर्फ हेरिन् । अत्यन्तै निन्याउरो अवस्था, रुँदा–रुँदा फुलेर राता आँखा, शिथिल शरीर । पहिले कता–कता देखेको जस्तो लाग्यो । उनले पनि एकोहोरो हेरिराखिन् मलाई । मैले सोधेँ– आमा हजुर त हाम्रो खरिबोटे काकी जस्तो पो लाग्यो । यति भन्न नपाउँदै उनका आँखा चलाएमान देखिए । वर्षौंसम्म खोजेको बस्तु भेटिएझैँ । शरीरमा अलिकति ताजापन देखापर्‍यो । थकाइ मार्न आफ्नै घरको पिँढी भेट्टिए जस्तो सजिलो अनुभव गरिन् ती महिलाले । उनले मेरा हात समाउँदै सोधिन्– तिमी.. तिमी डाँडागाउँले माइलाकी छोरी हौ कि नानी ? मैले हो भन्दै टाउको हल्लाएँ । उनी त डाँको छोडेर रुन पो थालिन् । मैले उनलाई मुसार्दै सोधेँ- काकी ! खोइ त काका, छोराछोरी ? अनि हजुर के बिरामी हो ? किन एक्लै ? यसरी मैले प्रश्नमाथि प्रश्न तेर्स्याउँदै गएँ । ‘भन्छु नानी भन्छु, सबै कुरा छर्लङ्ग हुने गरी सुनाउँछु । तिमीलाई, सुनाउन पाए मलाई पनि अलि हलुको होला भन्दै काकी आँशु पुछ्न थालिन् ।

खरिबोटे काकीको रामकहानी उनकै शब्दमा…

कुरा गर्‍यो कुरैको दुःख भन्छन् नि नानी, हो त्यस्तै हो मेरो कहानी पनि । जसलाइ जति सुनाए पनि हात लाग्यो शून्य । छोराछोरी अमेरिका गएपछि मैले आफूलाई यो पृथ्वीमा सबैभन्दा सुखी, खुशी र भाग्यमानी ठानेकी थिएँ । पद, प्रतिष्ठा, धन सम्पत्ति, सन्तान, सुख हामीसँग के थिएन र ! सबै कुराले भरिपुर्ण थियो हाम्रो जिन्दगी । बुढाबुढीको सरकारी नोकरी, छोराछोरी अमेरिकामा ! सबै लोभिन्थे हाम्रो पारिवारिक स्थिति देखेर । जागिरबाट दुवैले भर्खरै अवकाश लिएका थियौँ । छोराछोरीको बिहे धुमधामसँग गर्ने कति ठूलो योजना बुनेका थियौँ । छोराको बिहेलाई गरगहनासमेत बनाइसकेका थियौँ । यस्तैमा एकदिन दुवै छोराले फोनमा आफूहरूले उतै लगनगाँठो कसेको जानकारी गराए । पहिलो गासमै ढुङ्गा भनेझैँ भयो नानी हामीलाई यो खबरले । हृदयमा गाँठो पर्‍यो, मुटु जोड–जोडले धड्किदै फुट्ला जस्तो भयो । हामी छागाबाट खसेझै भयौ । छोराले दोहोरो कुरा गर्न पनि आवश्यक ठानेनन् । कहाँकी केटी, कसकी छोरी-नातिनी केही बताएनन् । दशधारा बगाइ, मुटुको टुक्राझैँ कति ममता र जतनले हुर्काएका आफ्नै सन्तानले जिन्दगीको एक अति महत्वपूर्ण शुभकार्य विवाहमा आफ्नै जन्म दिने बाबुआमालाई सामेल गराउन नचाहनु, कस्तो संस्कारको विकास भएछ है जस्तो लाग्यो । धन्य हाम्रा छोरा भन्दै चुँडिन आँटेको मुटुलाई सुम्सुम्यायौँ । छोरी पनि त्यो क्या हो ‘लिभिङ टुगेदर’ भन्ने त्यसैमा अल्झेकी छ रे नानी !

केही समयमा नै श्रीमानको फोक्सोमा क्यान्सर देखापर्‍यो । छोराछोरीलाई तुरुन्तै जानकारी गरायौँ । छोरा आएपछि इन्डिया लाने भनेर कुरिबस्यौँ । अहँ.. छोरा आएनन् । अन्तमा उनीहरू नआउने खबर आयो । एकाएक छोराछोरीप्रतिको चुलिएको हाम्रो आस्था र विश्वास शुन्यमा परिणत भयो । म एक्लैले इन्डिया लाने–ल्याउने गरिरहेँ । सन्तानको प्रेमरुपी सुगन्धले भरिएको मेरो श्रीमानको सौन्दर्य–दियो पनि निभ्न पुग्यो । बुबा बितेको जानकारी गराउँदा पनि ‘आउन मिल्दैन’ भन्ने जवाफ दिए मेरा बहादुर छोराले । कस्ता विवेकहीन निष्ठुरी सन्तान जन्माएछु भन्दै अफसोच गरेँ । १३औँ दिनमा चर्चित राष्ट्रिय पत्रिकामा बाबाको ठूलो फोटो राखी श्रद्धाञ्जली ब्यक्त गरे । छोराछोरीको महान कर्तव्य पनि पूरा गरेको सम्झे उनीहरूले । बाबुआमा मर्दाको दुःखमा पनि सामेल हुन नसक्ने सन्तानलाई कसरी आफ्नै रगत मान्ने नानी ?

डाक्टर भन्छन् मलाई कुनै रोग छैन, मात्र चिन्ता हो । हेर त नानी ! मसँग बहुमुल्य सम्पत्ति छ । तर आफ्नो भन्ने र आइपर्दा मसँग उभिदिने कोही छैन । दाजुभाइ दिदिबहिनी खलकको नाता सम्बन्धलाई पहिले नै अभिमानको ज्वालामा खरानी बनाइसक्यौँ ।

उतिबेला हामीमा नजानिँदो रुपमा अहम्ले जन्म लियो र त्यो बढ्दै गयो । सहोदर दाजुभाइलाई पनि वास्ता गर्न छोडेका थियौँ । त्यही ब्यवहारका कारण दाजुभाइ–दिदिबहिनी हामीसँग टाढिँदै गए । ती आफ्न्तको मन निकै दुखाएका छौँ हामीले, धनसम्पत्तिको आडम्बरमा ।

जीवनमा गन्तव्यको कुनै टुङ्गो हुँदैन भन्थे.. हो रहेछ । मलाई अब मेरा छोराछोरीप्रति दया-माया वा कुनै गुनासो छैन ।

अँ के नानी ! तिमीसँग एउटा कुरा राख्छु है ?.. कुनै अनुसासित असहाय परिवार भेट्न पाएमा यो सबै सम्पत्ति उनीहरूलाई नै सुम्पने विचार गरेकी छु । तिम्रो नजरमा कोही त्यस्तो परिवार छ भने मलाई भन है नानी ।

बाबुआमाको मृत्युको दुःखमा पनि सामेल हुन नचाहने सन्तानलाई के नाताले जायजेथा (सम्पत्ति) दिनु नानी भन त ! मैले त उनीहरूलाइ केही पनि नदिने निर्णय गरिसकेँ । अब म पनि उनीहरू जस्तै कठोर बन्न कर लाग्यो परिस्थितिले !

यति भन्दै आँसु पुछिन् काकीले, र थपिन्– ‘कसैले पनि छोराछोरी युरोप अमेरिका (विदेश) जानुलाई प्रतिष्ठाको रुपमा लिन हुँदोरहेनछ नानी । सबैको हालत हाम्रो जस्तै त होला नि, होइन र ? बाबुआमाको माया छोराछोरीमाथि छोराछोरीको माया ढुङ्गामुढामाथि भनेको यही त होला नि । अब म पिर पनि मान्दिनँ, कठोर एकदमै कठोर बन्छु ।’

यति भन्दै काकीले रुन्छे हाँसो हाँसिन् ।

म एकोहोरो खरिबोटे काकीको रोदनपूर्ण कुरा सुनिरहेँ । मेरा आँखाबाट पनि बलिन्द्र आँसुका धारा बग्दै–बग्दै नाक मुख छिचोल्दै घाँटीसम्म पुग्दै थिए ।

एकै गाउँ टोलमा बाल्यकालदेखि काकीसँग बिताएका दिन र विभिन्न रमाइला घटनाहरू मेरो दिमागमा सिनेमाको सिनझैँ घुमिरहे.. घुमिरहे ।

म निःशब्द छु, के भनेर काकीलाई सान्त्वना दिउँ । क्यालिफोर्नियाबाट ल्याइदिएको सुन्दर किलिप र मीठो चकलेट आँखावरिपरि झल्झली घुमिरहेछन् । त्यो बेलासम्म कसैले कुनै उपहार दिएकै थिएनन् होला सायद । मलाई उपहार दिने पहिलो ब्यक्ति पनि उनै काकी थिइन् क्यारे । आज ती काकीको यो दुःखद अवस्था देख्दा मुटु चिरिएको छ । उनको लागि के गर्ने, कसरी गर्ने ? केही सोच्न सकेकी छैन ।

हिजोआज युवायुवती कति बाध्यताले त कति रहरले विदेशिएका छन् । कति त विदेश जानुलाई सामाजिक प्रतिष्ठाको रुपमा हेर्ने हाम्रो समाजको कारणले पनि विदेशिएका छन् ।

कतिपय बाबुआमाले सन्तान युरोप-अमेरिका पठाउँदा आफू पनि जान पाइन्छ भन्ने मोहले पनि हुन सक्छ । तर बिचरा बाबुआमालाई ९० प्रतिशत सन्तानले बच्चा जन्माउँदा ‘तेल भिषा’मा मात्रै बोलाएको देखियो । ८-१० महिना बच्चा हेर्ने धाइआमाको काम हुने निजी स्वार्थमा । यो कुरा पढेर विदेशमा रहेका छोराछोरी र उनका अभिभाबकलाई चित्त नबुझ्न सक्छ यो लेखाइमा, तर वास्तबिकताचाहिँ यही नै हो ।

विदेश पठाउने कार्यलाई प्रतिष्ठा र इज्जत सम्झने बाबुआमाहरू सबैको हालत ढिलो–चाँडो खरिबोटे काकीको जस्तो हुनेमा चाहिँ दुई मत राख्नै पर्दैन ।

खरिबोटे काकाकाकीको छोराछोरी अमेरिका पठाउँदाको उन्मत्त क्षणिक खुशीको उन्मादले जीवन नै कठ्याङ्ग्रिँदै हिउँ जस्तो जम्न पुग्यो । उहाँहरूको जस्तो दुःखद ब्यथा मेरा अरु थुप्रै काकी-आमाहरूले भोग्न नपरोस्, मैले सुन्न नपरोस् । ईश्वरसँग यही प्रार्थना छ-
असतोमा सद्गमय !
तमसोमा ज्योतिर्गमय !!
मृत्योर्मा अमृतम्गमय !!!