लचकता अपनाउँदै केपी पुगे प्रचण्ड-निवास !

लचकता अपनाउँदै केपी पुगे प्रचण्ड-निवास !



पार्टीमा गुटगत खिचातानी उत्कर्षमा रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको निवासमा पुगेका छन् । प्रधानमन्त्रीको रुपमा पहिलोपटक प्रचण्ड-निवास खुमल्टार पुगेका नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको यस कदमलाई निकै उत्सुकताका साथ हेरिएको छ ।

यतिबेला सत्तारुढ नेकपा फुट्ने कि कुनै सहमति निकालेर पार्टीको इज्जत धान्ने भन्ने दोबाटोमा उभिएको अवस्था छ । बितेका सातादिन अत्यन्त उहापोहका साथ गुज्रिएको सो पार्टीले केपी ओलीको खुमल्टार प्रवेशपश्चात् नयाँ दिशा पाउन सक्ने उक्त पार्टीसम्बद्ध कतिपय नेता कार्यकताको दाबी छ । तथापि, विगतदेखि नै सहमति र झगडाको निरन्तर प्रहसन चलिआएको सन्दर्भले यस्तै होला भन्ने निचोडमा पुग्न भने दिँदैन भन्ने धारणा राख्नेहरुको पनि कमी छैन ।

प्रधानमन्त्री ओली प्रायः भेटवार्ताका लागि कुनै नेताको घरमा नजाने गरेका भए पनि शुक्रबार साँझ बालुवाटारमा भएको भेटमा आफू निर्णायक छलफलका लागि शनिबार खुमलटार आउने आश्वासन उनले प्रचण्डलाई दिएका बुझिएको छ ।

शुक्रबार दिउँसो पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षले आफ्नो पक्षका नेता कार्यकर्ताको भेलाको आयोजना गरेको थियो । यसबाट प्रधानमन्त्री ओलीलाई सहमतिको लागि लचकता अपनाउन दबाब पुगेको सो पक्षको बुझाइ रहेको बताइन्छ ।

पछिल्ला दिनमा पुनः मध्यमार्गी भूमिका निर्वाहमा देखिएका बामदेव गौतमसमेत खुमल्टार-छलफलमा सहभागी भएबाट ओली र प्रचण्डबीचको ‘खुमलटार-छलफल’ले नेकपाको विवाद व्यवस्थापनमा कुनै ठोस निचोड निस्कन सक्ने ठानिएको छ ।