- आरपी उपाध्याय, नवलपरासी
राजधानी काठमाडौंदेखि सबैभन्दा नजिकको गण्डक ब्यारेज अन्तर्राष्ट्रिय सिमाना पुग्न निर्माण गर्ने भनिएको सडक अहिले सुस्त मात्र नभइ कानुनी जटिलतामा परेको छ ।
गण्डकी प्रदेशको पूर्वी नवलपरासीअन्तर्गत पर्ने त्रिवेणीधामदेखि पूर्व-पश्चिम राजमार्गस्थित दुम्कीबास जोड्ने ‘जनता मार्ग’ अहिले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती वनका कारण निर्माण कार्यमा बाधा पुगेको जानकारीमा आएको छ ।
त्रिवेणीदेखि दुम्कीबास पुग्न २२ किलोमिटर दूरी रहेकोले यो सडक अविलम्ब निर्माण कार्यमा सबैको चासो पनि बढ्दै छ । सडक निर्माण कार्यमा गाउँपालिका पूर्ण प्रतिवद्ध भए पनि प्रदेश र सङ्घीय सरकारबाट कुनै सुनवाई नभएबाट जनताको मागअनुसार सडक बन्न नसकेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीको भनाइ रहेको छ । पूर्व-पश्चिम राजमार्ग दाउन्ने सडकको बिग्रँदो अवस्था र सडकजामका कारण घण्टौँ पीडामा पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउन पनि वैकल्पिक सडकको रूपमा त्रिवेणी-दुम्कीबास सडकलाई हेरिएको छ ।
त्रिवेणी-दुम्कीबास सडकको माग द्रुत गतिका साथ भइरहेको अवस्थामा सङ्घीय सरकारबाट पहल नहुनु चिन्ता र चासोको विषय बन्दै गएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा न. ६ र ७ दाउन्नेदेखि दक्षिणतर्फपर्ने हुँदा ती वडाका नागरिकहरूलाई राहदानी, नागरिकता प्रमाणपत्रलगायत सेवा सुविधा लिन जिल्ला मुख्यालय कावासोती पुग्न ५ घण्टाको समय लाग्ने अवस्थाले त्रिवेणी दुम्कीबास सडकको मागलाइ नकार्न नसकिने वडा न. ६ का वडा अध्यक्ष पृतमबहादुर गुरुङले जानकारी दिएका छन् ।
विगत १० वर्षदेखि सडक निर्माण प्रयास ओझेलमा पर्दै जाँदा प्रदेश र सङ्घीय जननिर्वाचित प्रतिनिधिलाई थप दबाब बढेको पनि सम्बद्ध अधिकारीहरूले बताउँदै आएका छन् । त्रिवेणीदेखि गाउँपालिका सदरमुकाम दुम्कीबास पुग्न ४ घण्टा लाग्ने र कावासोती पुग्नको लागि ७० किलोमिटर दूरी तय गर्नुपर्ने हुँदा त्रिवेणी–दुम्कीवास सडक निर्माण गर्न कानुनी जटिलतालाई अन्त्य गरी नागरिकको मागप्रति सबैको ध्यान जान जरुरी रहेको छ ।
प्रतिक्रिया