‘जनमुक्ति सेना’को विरोधको अर्थ-वीरबहादुर महतारा (प्रशान्त)

‘जनमुक्ति सेना’को विरोधको अर्थ-वीरबहादुर महतारा (प्रशान्त)


इतिहास जोखिमले भरिएको हुन्छ र त्यो साँचो पनि हुन्छ । कसैले चाहेर त्यसलाई झुटो सावित गर्न सक्दैन । इतिहासको आफ्नै मूल्य र महत्त्व हुन्छ । इतिहाससँग प्रत्यक्ष गाँसिएका पात्रहरूको महत्त्व पनि त्यत्तिकै अहम् हुन्छ । हो, ‘जनमुक्ति सेना’ त्यही एउटा महत्त्वपूर्ण शक्ति हो जसले नेपालमा आफ्नो अस्तित्वसहित एउटा इतिहास रचना गर्‍यो भने अर्कोतिर हरेक उतारचढावबीचबाट उसले आफ्नो खालको परिवर्तनको चिनोसमेत ल्यायो । आफूलाई राजनेताको लिस्टमा उभ्याउन प्रतिस्पर्धा गर्ने नेपाली राजनीतिका हाम्रा नेता भनाउँदाहरूले यो राम्रोसँग बुझनुपर्दछ । किनभने जसले परिश्रम गर्छ उसले आफ्नो परिश्रमको माया र मूल्य खोज्दछ । त्यसैले जनमुक्ति सेनाले पनि आफ्नो लगानी र परिश्रमले गर्दा आज नेपालमा एक खालको उपलब्धि र परिवर्तन ल्यायो, त्यसप्रति उसले आशा, अपेक्षा र माया गर्नु उसको कर्तव्य नै हो ।
आवरणमा जे देखिए पनि पछिल्लो राजनीतिक घटनाक्रमले जनसेनालाई पीडाबोध गराएको छ । खासगरी जारी शान्ति र संविधानलेखन प्रक्रियालाई सफल पार्ने नाउँमा गरिएको माओवादी सेनाको व्यवस्थापन प्रक्रिया हेर्दा स्वाभाविक रूपमा आफ्नो परिश्रमको मूल्य र सम्मान नगरिएको जनसेनाले अनुभूति गरेको छ । त्यसैले माओवादी शिविरमा उठेको विरोध रहर नभएर बाध्यता हो । किनभने, अचानोको चोट खुकुरीले के बुझ्दछ भनेजस्तै जनसेनाको नाम मेटेर समायोजनमा जाँदाको पीडा जीवनको अमूल्य कालखण्डलाई न्यौछावर गर्ने जनसेनाका योद्धाबाहेक अरूले अनुभूत गर्न सक्दैन । जनसेनाका टाउकोमा टेकेर आफूलाई राजनीतिक रूपमा माथि उठाउने नेताहरूले पनि यो बुझ्न नसक्ने नै रहेछन् भन्ने घटनाक्रमले सिद्ध गरेको छ ।
हिजो माओवादी पार्टीमा प्रवेश गरी माओवादी सेनामा हामफाल्दा युवाहरूलाई माओवादी नेतृत्वले अनेक सपना, आशा र अपेक्षा देखाए । देश र आफ्नै पनि सुन्दर भविष्यको कल्पनामा रम्न लगाए, अनेक कल्पनाहरू बुन्न बाध्य पारे । यति मात्र होइन, उनीहरूले आफंै पनि दिउँसै सपना देखे र त्यही सपना हामीलाई समेत बाँडे । आज त्यो सपना फगत् सपना मात्र रहेछ यथार्थमा परिणत हुन नसक्ने रहेछ भन्ने अनुभूति गर्नुपर्दा विरोधका स्वरहरू उठ्नु नाजायज छैन । कि त हिजो झुटा सपना नबाँडेको भए हुन्थ्यो कि भने आमशोषितपीडित जनताको पक्षमा नभई हामी हामै्र लागि लडेका हौँ भन्ने आँट देखाउन सक्नुपर्दथ्यो । अहिले न त जनताका लागि केही भएको छ न जनयुद्धमा होमिएका हामीहरूको भविष्यकै सुनिश्चितता ।
जनयुद्ध सुरु गर्दा या जनमुक्ति सेनाको स्थापना गर्दा जनतासँग गरिएको प्रतिबद्धतालाई डस्टविनमा फ्याँकेकोले नै अहिले विरोधका स्वरहरू उठेका हुन् । यसरी जायज विरोधको आवाज बुलन्द गर्न खोज्ने साथीहरूले ‘यो प्रक्रियाले स्थायी शान्ति गर्दैन अर्को प्रक्रियाबाट सबैलाई मान्य हुने गरी अगाडि बढौँ’ भन्दासमेत झन् उसैलाई शान्ति र संविधानविरोधी भन्ने पगरी गुथाउने चेष्टा गरिएको छ । जो जनताको मुद्दालाई सम्बोधन गरी फेरि देशमा अर्को खालको द्वन्द्व पैदा नहोस् भनी चाहन्छ उहीचाहिँ शान्तिविरोधी हुने ? गरिखाने वर्गको गरिखाने भाँडो खोसेर केवल सत्ता र शक्तिको वरिपरि चक्कर मारिरहनेचाहिँ शान्ति र संविधानको पक्षमा उभिएको ठहरिने ? यस्ता यावत् यथार्थका विषयमा सबैले जान्नैपर्छ । देशका लागि लड्नेहरूका कुभलो चाहनेहरूले मात्र हामीलाई शान्ति र संविधानविरोधी भन्न सक्छन्, जनताका हितैषीले सक्दैन । जसले दुनियाँका एजेन्टसँग हात मिलाउँछन् अनि भारतीय ‘र’सँग रंगीन उत्सव गर्छ, हो तिनीहरूले मात्र यसो भन्छन् । हामी त शान्तिका हिमायती हौँ, शान्तिका लागि आफ्नो हरेक मूल्यसमेत चुकाएका छौँ, यो वास्तविकता अरू राजनीतिक पार्टीले समयमै बुझ्न सक्नुपर्छ, जनमुक्ति सेनाले गरेको हरेक लगानीप्रति सम्मान गर्नुपर्छ । अन्यथा यसको परिणति अवश्य पनि राम्रो हुन सक्दैन । सधैं ब्याज मात्र खान नखोजुन् कसैले, आवश्यक परे जमुसेले पनि साँवा-ब्याज एकैचोटि खान जानेको छ । त्यसैले शिविरमा विरोध हुनुको अर्थ राम्रोसँग बुझनुपर्छ । जमुसे नेपालले देश र जनताप्रति जुन त्याग गरेको छ त्यसलाई सही मूल्य दिनैपर्छ । यसो भएमा मात्र आगामी दिनमा अभिशापका दिन देश र जनताले व्यहोर्नुपर्दैन । हेक्का रहोस्, राज्य र सरकारले जमुसेलाई ठीक ढङ्गले मूल्याङ्कन गरी समायोजन प्रक्रियालाई उचित सुहाउँदो ढङ्गबाट अगाडि बर्ढाई उचित प्याकेजसहित तत्कालीन वैकल्पिक व्यवस्थापन गरिएमा मात्र विरोधका स्वरहरू साम्य हुनेछन् र देशमा स्थायी शान्ति र संविधानका लागि मार्ग प्रशस्त गर्नेछ ।(जनमुक्ति सेना, चौथो डिभिजन नवलपरासी)