अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिसँग अपील
प्रधानमन्त्रीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक राखी प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । सो पार्टीका प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दे यो कदम संविधानको अक्षर, मर्म र भावना विपरीत रहेको जनाएका छन् ।
प्रवक्ता शर्माले भनेका छन्- ‘नेपाली कांग्रेसले यसलाई राजनैतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्नेछ ।’
चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय रहेको भन्दै प्रवक्ता शर्माको विज्ञप्तिमा ‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद थियो/छ, विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौँ र उद्घोष गर्दछौँ, यो प्रयत्नलाई असफल तुल्याइने छ’ भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ- ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ । पार्टीले लिने आवश्यक कदम र थप धारणा बारे आजै उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको छ।’

प्रतिक्रिया