सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफू सो दलको एकल अध्यक्ष रहेको भ्रम दिने गरी एक वक्तव्य जारी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ‘अध्यक्ष’ को रुपमा दाहालले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी एकताबद्ध रहेको र कसैको पार्टीविरोधी गतिविधिले एकतालाई कुनै तात्विक असर नपर्ने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
दाहालद्वारा जारी विज्ञप्तिमा नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण सङ्घर्ष गरेको परिणामस्वरुप प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको र एकाधको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र एकतालाई भत्काउन नसक्ने ठोकुवा गरिएको छ ।
उनले भनेका छन्, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको सिफारिशलाई पार्टी स्थायी कमिटीको बैठकले विरोध गरिसकेको भन्दै दाहालले नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको बताएका छन् ।

प्रतिक्रिया