प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
संसद विघटनको निर्णयपछि उत्पन्न तरल राजनीति र अन्योलपूर्ण परिवेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटारबाट दिउँसो ३ः०० बजे हुने प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीका प्रेस(सहयोगी सूर्य थापाले जनाएका छन् ।
यस्तै, सोमबार बिहान आफूनिकट सांसदहरुसँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले आफू मन भारी बनाएर संसद विघटनको कदम चाल्न बाध्य बनेको अभिव्यक्ति दिएका छन् । आफूसँग यसबाहेक अर्को विकल्प नभएको उनको तर्क थियो । संसद विघटन गरेर अन्य कमद नचालेको र निर्वाचनमा जाउँ भनेर मिति घोषणा गरेको प्रष्ट्याउँदै उनले निर्वाचन लोकतान्त्रिक विधि भएको बताए ।
विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर पार्टीका अन्य नेताहरु सरकार र मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटामा अग्रसर भएको आरोप लगाउँदै उनले भने, ‘हामी एकता, एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ महाधिवेशन गर्ने, विचार, सङ्गठन र गन्तव्यमा स्पष्ट हुने पार्टी बनाउन सक्रिय थियौंँ तर नेताहरु पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनुभयो ।’
अप्ठेरो अवस्थामा जनतासमक्ष जानुलाई निरङ्कुश कदम भनी चलाइएको हल्ला गलत भएको जनाउँदै उनले अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम भएको ठोकुवा गरे । ‘एकतापछि पार्टी सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनुभएन, मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन, हातहाती चाहिन्छ भनी उहाँहरुको स्वार्थले घेरिनुपऱ्यो’, प्रधानमन्त्री ओलीले भने ।
‘साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौंँ र यसमा सफलता पनि पाएका छौं । वर्षौदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए, सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन्,’ ओलीको अभिव्यक्ति थियो ।
प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन पनि दिए । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षड्यन्त्रबारे जनतालाई बुझाउनुहोस्, कसले काम गऱ्यो, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र, तिकडम मात्र गऱ्यो, जनतालाई बुझाउनुपर्छ’, ओलीको भनाइ थियो ।
सो क्रममा प्रचण्डद्वारा जारी गरिएको विज्ञप्तितर्फ संकेत गर्दै नेकपा अध्यक्ष ओलीले आफू पार्टीको पहिलो नम्बरको अध्यक्ष भएकोले कसैले कारवाही गर्ने भन्ने प्रश्न नआउने र पार्टीमा आफ्नो हस्ताक्षर नै बैध हुने बताए । संसद विघटनको कदम असंवैधानिक भन्नु गलत भएकोमा उनले जोड दिए ।
संसद् विघटन आइतबार भएपछि प्रधानमन्त्री ओलीले आफ्ना निकटका निवर्तमान सांसदलाई आज बालुबाटारमा बोलाएका थिए । प्रतिनिधिसभा निर्वाचन आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको छ ।
प्रतिक्रिया