दुवै पक्षसँग सल्लाह गरेर उचित निर्णय दिने थापाको आश्वासन
सनत आचार्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन् ।
थापालाई भेट्न दाहाल मन्त्रीनिवास पुल्चोक पुगेका थिए । थापा र प्रचण्डबीच १० मिनेट कुराकानी भएको बताइएको छ । त्यसअघि थापाले आफूपक्षीय नेताहरूसँग परामर्श गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव पक्षका मन्त्रीहरूले आइतबार सामूहिक राजीनामा दिएका थिए ।
तर, पूर्वमाओवादीका तर्फबाट मन्त्री बनेका रामबहादुर थापा र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । भट्टले आफ्नो साथ प्रधानमन्त्री ओलीलाई रहेको स्पष्ट पारेका छन् ।
थापा पनि ओलीकै पक्षमा रहेका बताइन्छ । तर, उनी सोमबार बिहान बालुवाटारमा भएको भेलामा नगई आफूपक्षका नेताहरूसँग पुल्चोकमै परामर्शमा जुट्दा थापाको अझै प्रष्ट धार आइनसकेको बुझिन्छ, तथापि ओलीलाई नै साथ दिने मनसायमा उनी रहेका बताइन्छ ।
यसै क्रममा नेकपाका पूर्वसांसदहरू तथा केन्द्रीय तथा स्थायी समिति सदस्यहरूले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापालाई भेटेर ‘असंवैधानिक कदम’मा साथ नदिन आग्रह गरेका छन् ।
उपत्यकामा रहेका स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, अर्का नेता मायाप्रसाद शर्मालगायतले थापालाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानविरोधि रहेको उल्लेख गर्दै यसमा तत्काल अडान लिन सुझाव दिएका बुझिएको छ । थापाले मन्त्रीनिवास पुल्चोकमै रहेर नेताहरूसँग भेट गरेका छन् ।
नेताहरूले ओली-सरकारमा रहेका अन्य मन्त्रीहरुले हिजो नै निर्णय गरेर सामुहिक राजीनामा दिइसकेको अवस्थामा थापालाई समेत राजीनामा दिन दबाब दिएको तर यस विषयमा थापा केही बोलेका छैनन् । बताइएअनुसार नेताहरुले थापालाई तत्काल राजीनामा दिन आग्रह गरेका थिए । सो क्रममा अधिकांश समय मौन रहेका गृहमन्त्री थापाले भेटघाटको अन्त्यमा भने आफूले दुवै पक्षसँग सल्लाह गरेर निर्णय गर्ने अभिव्यक्ति दिएका थिए ।
file photo
प्रतिक्रिया