मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : अध्यक्ष ओली

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : अध्यक्ष ओली


प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् ।

पछिल्लो राजनीतिक घटनालगायत विषयमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा अध्यक्ष ओलीले सो तर्क राखेका हुन् ।

पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न पनि सल्लाहकार थापाले सञ्चारमाध्यमलाई आग्रह गरे ।

अध्यक्ष ओलीले पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा पनि मङ्गलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको छ ।