आन्दोलनको कुरा छोडेर चुनावतर्फ केन्द्रित हुन डा. खड्काको सुझाव

आन्दोलनको कुरा छोडेर चुनावतर्फ केन्द्रित हुन डा. खड्काको सुझाव



नेपाली कांग्रेसको बैठक बुधबार पुनः बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक भोलि पुनः बस्ने भएको छ ।

आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सभापति देउवाका अलावा रामचन्द्र पौडेल, महेश आचार्य, डा. नारायण खड्का र एनपी साउदले आफ्नो धारणा राखेका थिए ।

बताइएअनुसार सभापति देउवाले पार्टी कसरी अघि बढ्नु उपयुक्त हुन्छ भन्दै केन्द्रीय सदस्यसँग सुझाव मागेका थिए भने देउवापछि बोलेका रामचन्द्र पौडेलले संसद विघटन गर्ने सरकारको निर्णयको प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । पौडेलले कसैले सत्ताको लोभ देखाएमा त्यसको पछि लाग्न नहुने भन्दै ओलीको असंवैधानिक कदम सच्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने र नेकपाको प्रचण्ड नेपाल खेमासँग मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, केन्द्रीय सदस्य महेश आचार्यले संविधानले संसद र सरकार दुवैको स्थायित्वको व्यवस्था गरेको अवस्थामा संसद विघटनको निर्णय गैरसंवैधानिक र अलोकतान्त्रिक भएको धारणा रोखका थिए भने केन्द्रीय सदस्य डा. नारायण खड्काले कांग्रेस अब चुनावमा केन्द्रित हुनुपर्ने बताएका थिए । चुनाव नै अबको बाटो भएको उल्लेख गर्दै नेता खड्काले आवेशमा विचार नगरी सडक आन्दोलनमा गएर अलपत्र पर्न नहुने धारणा राखेका थिए । डा. खड्काको धारणालाई नेता एनपी साउदले समर्थन गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जानकारी दिइएको छ ।