दाहाल-नेपाल समूहको नेकपाले पार्टी नेता माधवकुमार नेपाललाई सर्वसम्मत ढङ्गले पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बैठकले पार्टी अन्तरिम विधानानुसार अनुशासनको कारबाही गरी उहाँलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको रिक्त सदस्यमा मनोनयन गर्ने कमिटीकै प्रस्तावलाई सर्वमम्मतिले अनुमोदन गरेको छ । बैठकले पार्टीका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीलाई यसअघि गरिएको अनुशासनको कारबाहीबाट फुकुवा गरी पूर्ववत् जिम्मेवारी दिने निर्णय पनि गरेको बताइएको छ ।
बैठकले फुटवादी क्रियाकलापका विरुद्ध तथा पार्टी एकताका पक्षमा अपिल गर्दै विभिन्न प्रस्तावसमेत पारित गरेको छ । सबै नेताकार्यकर्तालाई एकीकृत पार्टीका पक्षमा एकताबद्ध भएर अघि बढ्न बैठकले अपिल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री ओलीको सिफारिशअनुसार राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनको घोषणालाई अस्वीकार गर्ने निर्णय गरेको छ । बैठकले अविलम्ब संसद् बैठक आह्वान गर्न र संसद्को नियमित कार्य सञ्चालन गर्न पनि माग गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार बिहान ११ः३० बजे कार्की ब्याङ्क्वेटमै बस्ने जानकारी दिइएको छ । बैठकमा नेकपाका कुल ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ को उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया