दक्षिण कोरियाली रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी भेला हुन रोक

दक्षिण कोरियाली रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी भेला हुन रोक



दक्षिण कोरियाले रेष्टुरेण्टमा पाँच वा सोभन्दा बढी व्यक्तिलाई रेष्टुरेण्टमा भेला हुन रोक लगाउने निर्णय गरेको छ ।

दक्षिण कोरियाको केन्द्रीय विपत् व्यवस्थापन तथा सुरक्षा उपाय मुख्यालयका अनुसार आगामी बिहीबारदेखि जनवरी ३ सम्म यो नियम लागु हुनेछ । क्रिसमस र नयाँ वर्षका लागि नागरिकहरू भोजभतेरमा सहभागी हुने बढी सम्भावना रहेको र यसले महामारी थप फैलिन सक्ने कारण दुई हप्ता भोजभतेर र रमाइलोमा नजान आग्रह गरिएको त्यहाँका सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।

राजधानी सियोल, ग्योङ्जी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्यिोनमा घरभित्र वा बाहिर परिवारका सदस्यबाहेक चार जनाभन्दा माथि भेला हुन नपाइने व्यवस्थालाई बुधबारदेखि लागु गर्ने सूचना यसअघि नै भइसकेको छ ।

केन्द्र सरकारले वर्षान्तका समय हुने सामान्यभन्दा सामान्य भेलालाई पनि रद्द गर्न र कोभिड–१९ सङ्क्रमण फैलिन नदिन देशव्यापीरूपमा आग्रह गरेको छ । यसअघि नै निश्चित गरिएका कार्यक्रमहरूलाई पनि सरकारको निर्देशनबमोजिम सम्पन्न गर्न अधिकारीहरूले सुझाव दिएका छन् ।

उक्त अवधिमा सिनेमा हल वा कन्सर्टमा पनि साँझ नौ बजेपछि सेवा सञ्चालनलाई रोक्न भनिएको छ । स्कीलगायतका खेलकूद गतिविधिहरूलाई पनि आगामी १० दिन पूर्णतया रोक लगाइएको छ । उक्त समय पर्यटन, पार्क सवारी बन्द गरिनेछ भने होटेल, गेष्ट हाउस र अन्य आवासीय व्यवस्थापनलाई एक तिहाई क्षमतामा मात्र सञ्चालन गर्न भनिएको छ भने डिपार्टमेन्ट स्टोर्समा जाँदा फर्किदा पाहुनाको तापक्रम लिन अनिवार्य गरिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार दक्षिण कोरियामा विगत २४ घण्टामा ८६९ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ५१ हजार ४६० पुगेको छ । यहाँ विगत दुई दिनमा लगातार करिब एक हजारको हाराहारीमा सङ्क्रमित देखिएकाभएपनि विगत ४५ दिन अर्थात् नोभेम्बर ८ पछि उक्त सङ्ख्या झण्डै एक सयभन्दा माथि रहने गरेको थियो ।