‘सूर्य’ जता ‘शक्ति’ उता !

‘सूर्य’ जता ‘शक्ति’ उता !



नेकपा एमाले र माओवादी केन्द्रबीच साढे दुई वर्षअघि एकीकरण भइ गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘विधिवत’ विभाजित भएको छ । पुस ७ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रिय समिति विस्तार गरी जानकारी निम्ति निर्वाचन आयोगमा पठाउनुभएको छ ।

उहाँले विस्तार गर्नुभएको केन्द्रीय समिति एक हजार एकसय उनान्सय सदस्यीय रहेको र त्यसमा एक सय छयान्नब्बे सदस्य पदपूर्ति हुन बाँकी राखिएको छ । पार्टीको महासचिवमा विष्णु पौडेललाई यथावत राखिएको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीको चयन भएको छ ।

उता प्रचण्ड पक्षले बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरेको केन्द्रीय समितिको बैठकले केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको छ । सो पक्षको ‘संसदीय दल’को नेतामा प्रचण्ड चयन गरिएको ब्यहोरा पौष ६ गते सोमबार संसद सचिवालयमा दर्ता गरेको भनिएको निवेदनमा उल्लिखित थियो । पार्टी माधव नेपालले चलाउने र राज्य प्रचण्डले चलाउने गरी नेताहरूबीच सहमति भएको देखिन्छ ।

वरिष्ठ नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम भने पार्टी विभाजनपश्चात् पनि ‘उस्तै हैसियत’मा रहेका छन् ।

अब केपीपक्षको कार्यालय धुम्रबाराहीमै रहने र प्रचण्ड पक्षले पेरिस डाँडालाई आफ्नो कार्यालय बनाउने निश्चित छ । कार्यालय निश्चित भए पनि चुनाव चिन्ह सूर्य कसले पाउने भन्ने यकीन हुन बाँकी नै छ । यसअघि प्रचण्ड पक्षले करौँती र घनलाई आफ्नो चुनाव चिन्ह बनाउँदै आएको थियो भने केपी पक्षले सूर्य चिन्ह लिएर १२१ संसदीय क्षेत्रमा विजय हात पारेको थियो । अब दुई पक्षबीच चुनाव चिन्ह र पार्टीको सम्पत्तिलाई लिएर विवाद हुन सक्ने देखिन्छ ।

सूर्य चिन्ह पाउने पक्ष नै बलियो हुन सक्ने भएकोले उक्त चिन्हका निम्ति कानूनी र राजनीतिक लडाइँ हुन सक्ने सम्भावना छ । प्रचण्डलाई सूर्य चिन्हमा मोह नभए पनि माधव र झलनाथ खनालहरू ‘सूर्य’प्रति विशेष मोह राख्दछन् । उपाध्यक्ष वामदेव गौतम नै अन्ततः ‘सूर्य’का पक्षमा उभिने अनुमान गरिएको छ ।

सूर्य चिन्हका विषयलाई लिएर दुई पक्षबीचको विवाद ज्यादा चर्कियो भने निर्वाचन आयोगले दुवै पक्षलाई उक्त चिन्ह नदिएर स्थगित गर्न सक्ने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन । तर सूर्य चिन्ह लिएर चुनाव लडेका ‘एमालेका’ अधिकाङ्श ‘सांसद’हरू केपीतिर भएकोले उक्त पक्षले नै ‘सूर्य’ प्राप्त गर्ने सम्भावना ज्यादा रहेको छ ।

स्मरणीय छ, केही महिनाअघि नेकपा एमाले नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ र, उक्त दलले उदाउँदो सूर्यलाई चिन्हका रूपमा पाएको छ ।