मध्यावधि निर्वाचन : काङ्ग्रेस कता ?

मध्यावधि निर्वाचन : काङ्ग्रेस कता ?



प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार (पुस ६) प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काङ्ग्रेसभित्रको एकथरि व्यक्तिहरू निकै उत्तेजित ढङ्गले प्रस्तुत भए । धेरै पहिलेदेखि नै सन्देहास्पद भूमिकामा रहेका मानिने रामचन्द्र पौडेल, गगन थापा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रदीप पौडेल र कृष्ण सिटौला प्रधानमन्त्रीको कदमविरुद्ध सशक्त सङ्घर्ष गर्ने उद्घोष गर्न पुगे ।

सिटौला कोरोना सङ्क्रणका कारण मंगलबार (पुष ७) अस्पताल भर्ना भएका छन् । त्यसैले पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यसमितिको बैठकमा सिटौला उपस्थित हुन सकेनन् । तर रामचन्द्र पौडेल, डा. शेखर कोइराला, गगन थापा, विमलेन्द्र निधि, धनराज गुरुङ र प्रदीप पौडेललगायतका व्यक्तिहरूले सडक सङ्घर्षमा गइहाल्नुपर्ने धारणा बैठकमा राखेको बताइन्छ ।

महामन्त्री पूर्णबहादुर खड्का तथा नेताहरू गोपालमान श्रेष्ठ, डा. सशाङ्क कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. नारायण खड्का, डा. प्रकाशशरण महत सन्तुलित ढङ्गले बैठकमा प्रस्तुत हुनुभएको थियो । नेताहरू शङ्कर भण्डारी, सुरेन्द्र पाण्डे, एनपी साउद र चन्द्र भण्डारीलगायत आन्दोलन नभइ निर्वाचनमा जानुपर्ने पक्षमा उभिएको बताइन्छ ।

वरिष्ठ नेता ज्ञानेन्द्रबहादुर कार्की र डा. नारायण खड्काले पनि आन्दोलनमा नगई चुनावमा जानुपर्छ भन्ने पक्षमा आफ्नो अभिमत राखेको बुझिएको छ । युवा नेता शङ्कर भण्डारी निर्वाचनको पक्षमा सर्वाधिक दृढतापूर्वक प्रस्तुत हुनुभएको जानकारीमा आएको छ ।