नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजना तथा एफएनजे बेल्जियम तथा पोर्तुगल शाखाको सहआयोजनामा मानसिक स्वास्थ्यसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट गत आइतबार (२० डिसेम्बर) आयोजित अन्तरक्रियामा मुख्य गरेर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा मानसिक अवसाद र त्यसको उपचारबारे टिचिङ्ग अस्पतालका मनोरोग विभाग प्रमुख, एमडी प्राध्यापक डाक्टर सरोजप्रसाद ओझाद्वारा प्रष्ट पार्ने काम भयो ।
कार्यक्रमका प्रमुख वक्ता मनोचिकित्सक ओझाले मानिसको दिमागी अवसादग्रस्त स्नायुबाट सृजित तनावपूर्ण अवस्थाको निरन्तरताले मानिसलाई चरम डिप्रेशनमा लैजाने बताउँदै त्यसलाई हाम्रो आदतमा परिवर्तन ल्याई निराकरण गर्न सकिने बताउनुभयो । मानसिक अपसाद (डिप्रेशन) प्रायः चिन्ताको कारणले हुन्छ । डिप्रेशन स्नायु हुँदै क्रमशः व्यक्तिको मस्तिष्कको भित्री तहसम्म पुग्छ । अनि न्यूरोटिक डिप्रेसनले चरम उदासिनाताको बाटो हुँदै शरीरभरि निरन्तर आफ्ना प्रतिक्रियाहरु देखाउन थाल्छ । मनोचिकित्सक ओझाले भन्नुभयो- ‘यसको उपचार छ, सघन उपचार र योग अभ्यासमार्फत उपचार।’
उहाँले अगाडि भन्नुभयो, ‘संसारभर प्रयेक ४० सेकेन्डमा एक जना चरम निराशाकै कारण आत्महत्या गर्दछन् । त्यस्तै, भारतमा प्रत्येक २ मिनेटमा एक जना आत्महत्या गर्दछन् भने नेपालमा हरेक दिन १५-२० जना आत्महत्या गर्ने गरेको देखिन्छ ।’
‘निराशा र दुःखबाट सिर्जित चिन्ताबाट हाम्रो शरीरको हार्मोन उत्सर्जनमा असन्तुलन हुन्छ र मान्छेले आफ्नो जीवनको बारेमा गलत निर्णय लिन्छ। त्यसैले शरीरको स्वास्थ्य जति महत्वपूर्ण छ त्यत्तिकै दिमाग वा स्प्रिचुअल हेल्थको पनि महत्व हुन्छ । त्यसैले निराशाको कारण मृत्यु रोजेर भाग्ने भन्दा दुःखसँग सकारात्मक सोच लिएर लड्ने हो । त्यसले गलत मानसिक सोचविरुद्धको प्रतिरोधात्मक क्षमतालाई बढाइदिन्छ।’
यसो भन्दै गर्दा उहाँले महाभारतको लडाइँ पाण्डवले जित्नुमा गीताको उपदेशद्वारा अर्जुनको मानसिक अवस्थाको उपचार एक प्रमुख कारण थियो भन्ने उदाहरण दिनसमेत भुल्नुभएन।
पत्रकार महासंघ युरोप शाखाका सचिव पेम्बा गेलु शेर्पाले संचालन गरेको कार्यक्रममा अर्का विशिष्ट वक्ता हुनुहुन्थ्यो प्रसिद्ध योगा प्रशिक्षक सोविता सिंखडा । उहाँले चिन्ता, निरन्तरको सोचाइ, अनावश्यक महत्वाकांक्षा, लालचा, बेखुशी र जीवनप्रतिको चरम निराशाले नै मानसिक अवसाद निम्त्याउने बताउँदै त्यसको उपचार भनेको आत्मिक र मानसिक ब्यायाम हो भन्नुभयो । उहाँले प्रत्येक दिन आफूले चलाएको योगा क्लासमा उपस्थित भएर धेरै दिदीबहिनी तथा दाजु भाइहरुले आफूलाई डिप्रेशन (मानसिक अपसाद)बाट मुक्त गरेको उदाहरण दिँदै भन्नुभयो, ‘निरन्तर निराशा र चिन्ताका लक्षण देखिए भने हाम्रो योगा क्लासमा भाग लिनुहोस् र मानसिक रोगबाट मुक्त हुनुहोस्।’
त्यस्तै इजरायलको होम केयरमा काम गर्ने नेपाली मात्र नभएर परिवारबाट अलगथलग भएर कुनै पनि देशमा संघर्ष गरिरहेका नेपालीहरु आफ्नो समुदायको सम्पर्क, सामाजिक अन्तरघुलन र पारिवारिक मायाको आदानप्रदानले पनि मानिसलाई डिप्रेशनमा जान दिँदैन भन्दै जनसम्पर्क समिति इजरायलकी नेतृ दिपिका भुषालले आफ्नो जिज्ञासा राख्नुभएको थियो।
साइप्रसमा अहिलेसम्म केही नेपालीले आत्महत्या गरिसकेका छन्, त्यसको प्रमुख कारण मानसिक अवसाद हुन सक्छ भन्दै योग अभ्यास गरिरहेकी नेपाली चेली श्रुति राज्यलक्ष्मी राणाले यसको नियन्त्रणको लागि यस्ता अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । त्यसपछि इजरायलबाट महिला अभियानकर्मी उषा भुषाल सुवेदीले आफूलाई पनि इजरायल आएको केही वर्ष चरम निराशाले घेरेको तर योगा अभ्यास र आध्यात्मिक कथाहरुको श्रवणले डिप्रेशन मुक्त हुँदै गएको अनुभव बताउनुभएको थियो ।
पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले वक्ता र टिप्पणिकारहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरुले मानसिक पीडितहरुलाई केही भए पनि राहत र उर्जा दिने कुरा बताउनुभयो । त्यस्तै पत्रकार महासंघ पोर्तुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्यालले समेत मानसिक रोग र निराशाबारे आफ्नो टिप्पणी राख्नुभएको थियो ।
एफएनजे युरोपका कार्यवाहक अध्यक्ष डिल्ली अम्माईको सभापतित्व र शाखाका सदस्य शेरबहादुर छन्त्यालको स्वागत मन्तब्यबाट शुरु भएको अन्तरक्रिया करिब दुई घण्टा चलेको थियो ।
भर्चुअल कार्यक्रम लिंक
https://www.facebook.com/watch/live/?v=808597673049135&ref=watch_permalink
प्रतिक्रिया