माधव नेपालले पार्टीलाई ‘नमूना’ बनाउने

माधव नेपालले पार्टीलाई ‘नमूना’ बनाउने



प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

प्रचण्ड–नेपाल समूहको नेकपाले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने तथा पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको हो ।

पार्टी सङ्गठन सुदृढीकरण र सङ्घर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत यही पुस १० गते पार्टी केन्द्रीय कमिटीका सदस्य र पार्टीका सांसद/पूर्वसांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बैठकपछि सो दलका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । समसामयिक राजनीतिक परिस्थितिका विषयमा पार्टी अध्यक्षद्वयबाट शुक्रबार नै पत्रकारसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । बैठकले पुस ११ गते प्रदेश कार्यालयको संयोजनमा विभिन्न कार्यक्रम र सात दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

यसैगरी पुस १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिनेछ । उक्त कार्यकर्ता भेलामा एकीकृत पार्टीलाई कसरी सशक्त रुपमा अगाडि बढाउने, पार्टी एकताविरुद्ध भएका षड्यन्त्र र भ्रमलाई कसरी चिर्ने, प्रतिनिधिसभा विघटनविरुद्ध कसरी सङ्घर्ष अगाडि बढाउने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिने उनले बताए ।

राजधानीका साथै सबै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध पुस १४ गते विरोध प्रदर्शनको कार्यक्रम सञ्चालन गर्ने तथा पुस २० गतेसम्म सबै गाउँपालिका र नगरपालिका र पुस २५ गतेसम्म वडास्तरमा पार्टी बैठक र भेला आयोजना गरिने निर्णय भएको जनाइएको छ । सबै जनवर्गीय तथा मोर्चा सङ्गठनको केन्द्रीय बैठक र आवश्यकताअनुसार भेला पुस १४ गतेसम्म आयोजना गरिने बताइएको छ । बैठकले विरोध कार्यक्रमलाई स्थानीयरुपमा पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले सङ्घर्षको कार्यक्रमलाई व्यवस्थित ढङ्गले परिचालन गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा दुुई हजार ५०१ सदस्यीय केन्द्रीय सङ्घर्ष समितिको गठन गरिएको छ । पहिलो चरणको सङ्घर्षको कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रुपमा उच्चस्तरको कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । बैठकले सम्बन्धित प्रदेशसँग सम्बन्धित स्थायी कमिटी सदस्य र प्रदेश कमिटीका पदाधिकारीलाई तत्कालै पार्टी र सङ्घर्षको कार्यक्रममा जुट्न आआफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ ।

बैठकमा नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गरे । कम्युनिष्ट पार्टी क्रान्तिकारी उद्देश्यप्रति समर्पित हुँदै विधि, पद्धतिअनुसार चल्छ भन्ने विषयलाई नमूनायोग्य ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ भन्ने नेपालको भनाइ रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनलाई जनताको ठूलो सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कदमका रुपमा अर्थ्याएका प्रवक्ता श्रेष्ठले बताए ।

छिट्टै पार्टी महासचिवको टुङ्गो लाग्ने र बैठकले महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । महासचिव चयनका विषयमा बाहिर सार्वजनिक भएजस्तो कुनै विवाद नरहेको जिकिर गर्दै उनले भने, ‘विवादका कारण महासचिव चयनमा ढिला भएको सत्य होइन ।’

pict: rss