ग्लोबल आइएमई र निर्यात व्यवसायी महासंघबीच समझदारी
ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच महासंघमा आवद्ध सदस्य संघ–संस्थाहरूलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरू प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीहरूलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्नेछ । साथै बैंकले महासंघका सदस्यहरूलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ ।
सम्झौताअनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउने बताइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरूको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पु¥याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरूको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए ।
बैंकले निर्यात व्यवसायको प्रवद्र्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको र हाल व्यवसायीहरू कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरूलाई आवश्यकतानुसार अल्पकालीनदेखि दीर्घकालीन अवधिसम्मको लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने देखि बंैकिङ सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने गरी समझदारी भएको जानकारी दिए ।
ग्लोबल आइएमई बैंकसँगको सहकार्यले महासंघसँग आवद्ध संस्थाहरूलाई आवश्यक बैंकिङ्ग कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङ्गले महासंघले आफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरूलाई बैंकसँग कारोबार गर्न प्राथमिकता दिने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ समस्या समाधान गर्दै एक आपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए ।
महासंघका महासचिव दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रमहरू गर्ने बताए ।
प्रतिक्रिया