प्रमुख निर्वाचन आयुक्तसामु चुनाव चिह्न आफूले पाउनुपर्ने दाहालको जिकिर

प्रमुख निर्वाचन आयुक्तसामु चुनाव चिह्न आफूले पाउनुपर्ने दाहालको जिकिर



दाहाल-नेपाल समूहको नेकपाले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुनाव चिह्न दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । सो समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेताहरु आयोग पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा अध्यक्ष दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुनाव चिह्न आफूले पाउनुपर्ने माग गरेका छन् ।

आयोगले सबै केन्द्रीय सदस्यलाई बोलायो भने उपस्थित हुन तयार रहेको विश्वास दिलाउँदै अध्यक्ष दाहालले आधिकारिताका लागि त्यसभन्दा ठूलो अरू प्रमाण केही हुन नसक्ने तर्क गरे । “हामी सबै हस्ताक्षरकर्तालाई बोलाएर दस्तखत रुजु गरियोस्, यस विषयलाई हाम्रो परम्परा, कानून, नियमअनुसार छिटो टुङग्याइयोस्”, प्रचण्डको आग्रह थियो ।

अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुनाव चिह्नबारे कानून र विवेकसम्मत ढङ्गबाट निर्णयमा पुग्न आयोगलाई सुझाव दिए ।

उक्त समूहका नेताहरु झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायत सो अवसरमा उपस्थित थिए भने प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए ।

pict: rss