राप्रपामा युवाहरुलाई ‘प्रयोगको बस्तु’ बनाइने आरोप

राप्रपामा युवाहरुलाई ‘प्रयोगको बस्तु’ बनाइने आरोप


राप्रपामा नयाँ अभ्यास : प्रदेश प्रवक्तालाई जिल्ला प्रवक्ताद्वारा कारवाही !

पुनहरि बेलबासे, भैरहवा

राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश कार्यसमितिका प्रवक्तालाई जिल्ला कार्यसमितिका प्रवक्ताले कारवाही गरेको सन्दर्भ यतिबेला चर्चाको विषय बनेको छ ।

सो पार्टीका लुम्बिनी प्रदेश कार्यसमिति प्रवक्ता रविकुमार रौनियारलाई रुपन्देही जिल्ला प्रवक्ताले कारवाही गरेको भन्दै शुक्रबार (१० पुस) दिउँसो विज्ञप्ति सार्वजनिक भएको थियो । राप्रपाको विद्यमान विधानअनुसार माथिल्लो कमिटीमा रहेकालाई तल्लो कमिटीले कारवाही गर्न मिल्दैन ।

राप्रपा रुपन्देहीका युवा नेता रौनियारले पुस १० गते राजीनामा दिएका थिए । उनले पत्रकार सम्मेलन आयोजना गरी राजीनामाको विषयमा भने, ‘गत २०६६ सालदेखि मैले राप्रपामा संलग्न भई राजनीतिक जीवनको शुरुवात गरेको थिएँ । राप्रपा फुट्दा वा एकीकरण हुँदा मैले जिम्मवार ढंगले काम गरेँ । केही दिनदेखि एउटा समुहले ममाथि अनावश्यक प्रहार गर्न थालेकोले यहाँ बसेर दासत्व स्विकार गर्न सकिनँ र, राजीनामा दिने घोषणा गरेँ । पुस १० गते मैले पार्टी कार्यालयमा राजीनामा बुझाएको हुँ ।’

उनले केही ब्यक्तिले आफ्नो चरित्र हत्या गर्ने प्रयाससमेत गरेको उल्लेख गर्दै भने- ‘मविरुद्ध दुष्प्रचार गरियो । म प्रदेश प्रवक्ताको जिम्मेवारीमा रहेको व्यक्तिलाई जिल्लाको प्रवक्ताले कारवाहीको प्रोपोगण्डा मच्चाउन मिल्छ ?’

रौनियारले अगाडि भने- ‘मैले पौष १० गते बिहान ११ः३० मा राजीनामा पेश गरेँ तर ९ गतेको कीर्ते मिति राखेर दर्ता गरिएको छ । जहाँ मैले ११ वर्ष बिताएँ त्यहीँ मलाई जालझेल गरियो ।’

यसबारे प्रष्टिकरण दिँदै राप्रपा जिल्ला प्रवक्ता पुनाराम पोखरेलले रुपन्देही जिल्ला कार्यसमितिको निर्णयअनुसार कारबाही गरिएको बताए । पोखरेलले भने- ‘हिजो बैठक थियो । ड्राफ्ट तयार भइसकेको रहेछ, मैले हस्ताक्षर मात्रै गरेको हुँ ।’

गत मंसिर २५ गते हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै हजारौँ युवाहरुको सहभागितामा र्‍याली निस्केको थियो । राप्रपाको एजेन्डाअनुसार गरिएको उक्त कार्यक्रमपश्चात् पार्टीभित्रैबाट उनलाई असहयोग थालिएको थियो । उनले भने- ‘मैले पार्टीको लागि निःस्वार्थ काम गरेँ, तर जब युवाले आवाज उठाउन थालेका थिए तब कारवाही गरियो । यसरी त यो पार्टीमा कुनै युवा टिक्न सक्दैन । राप्रपामा युवाहरुलाई प्रयोगको बस्तु मात्रै बनाइँदो रहेछ । यसैले म अलग भएको हुँ ।’