शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव

शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव



प्रदेश १ मा हिउँदे अधिवेशनको बैठक आह्वान

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा प्रचण्ड-माधव समूहका सांसदहरूले आइतबार प्रस्ताव दर्ता गरेका हुन् । गत शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि सोही समूहका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

पार्टी विभक्त भएपछि आन्तरिक कलह चर्कँदै जाँदा प्रचण्ड–माधव समूहले केपी ओली पक्षमाथि चौतर्फी दबाब सिर्जना गर्दै आएको छ । प्रदेश १ का मुख्यमन्त्री राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रधानमन्त्री केपी ओली पक्षका हुन्। सो समूहले प्रदेश १ मा भीम आचार्यलाई र वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

यसै क्रममा प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते अन्त्य भएको थियो । यसअघि प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिनका लागि बैठक बस्न सिफारिश गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिएका छन् ।