विभाजनबाट विरक्तिएका जिल्ला अध्यक्षले यसरी छाडे राजनीति !

विभाजनबाट विरक्तिएका जिल्ला अध्यक्षले यसरी छाडे राजनीति !


पार्टी विभाजनको घटनाबाट विरक्तिएका नेकपा धादिङका नेता नेत्र पौडेलले राजनीतिबाटै अलग्गिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा एक मार्मिक स्टाटस लेख्दै पौडेलले नयाँ पुस्ताको काँधमा आफूले जिम्मेवारी सुम्पिएको र अब सामाजिक कार्यको यात्रामा मात्र भेट हुने उल्लेख गरेका छन् ।

पार्टीलाई एक विशाल घर ठान्दै आएका पौडेलले लाक्षणिक शब्दावली प्रयोग गर्दै फेसबुक वालमा लेखेका छन्-

‘जीवनको पीड़ादायी निर्णय’

सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ्गा जुटाए, कसैले इट्टा बनाए, कसैले रड र सिमेण्टको जोहो गरे, कतिले कर्मी कामको तालिम लिए त कतिले सेनिटरी सामान ल्याए ।

सबै सामान एक ठाउँमा जम्मा भयो, प्राविधिक इस्टमेट गरियो, सबै सामानबाट एउटै घर बनाए, कम्पाउण्ड वालसहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।

सबै सामाग्री एउटै घरको लागि लगाउने निर्णय भयो । सोचेजस्तै कम्पाउण्ड वालसहितको घर निर्माण भयो । सबै अगुवाहरूले आ–आफ्नो कोठा लिए । श्रमिकहरूको थात–थलोको टुङ्गो लाग्दै थियो । कोठा रोजिसकेकाले एकअर्काको कोठा हेरे । आफ्नो भन्दा तिम्रो राम्रो र सुविधासम्पन्न रे’छ, साटफेर गर्नुपर्‍योे भन्ने विवाद शुरू भयो ।

सबै आ-आफ्ना अडानमा डग्मगाएनन् । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मोलाहिजा जगको ढुङ्गा निकाले । हेर्दाहेर्दै घर गर्लम्म ढल्यो ।

अब फेरि नयाँ अलग-अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान कस–कसले जम्मा गरेको हो आ-आफ्नो तर्फ थुप्रो लगाउने होड शुरू भएको छ । त्यो तानातानमा अझै कति सामान नष्ट हुने हुन् कुनै ठेगान छैन । मन दुःखेको छ, अहिलेसम्मको दुःख समाप्त भएको छ । फेरि अर्को घर निर्माण गर्न मनले कत्ति पनि मानिरहेको छैन ।

घर नबनाए ओडारको बास हुने कुरा राम्ररी बुझेको छु, तर मन बरू त्यसै गर्न घर लडेकै दिनदेखि तयार थियो । आजसम्म मनलाई अन्तिम निर्णय लिने मौका दिएँ । अन्तिम पटक पनि मनले भन्यो- बरू ओडारमा बस ! फेरि पनि गल सुरक्षित छन् तेरो श्रमको सुरक्षित हुने कुनै ग्यारेन्टी छैन । जब मन नै अगाडि लाग्दैन भने तन मात्र लिएर हिँड्नु मन हुनेका लागि पनि घातक हुन्छ ।

नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरेँ । आफ्ना सहयात्रीहरूसँग ‘नाइँ.. रहन्नँ’ भन्न नसक्ने कमजोरीका कारण केही समय सम्पर्कबाहिर हुनेछु । यस विषयमा सम्झाऊने कुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नुहोला ।

राजनीतिक सहयात्राको दौरान साथ/सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ । यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमाप्रार्थी छु ।….