‘संसद् पुनस्थापना हुँदैन, जनमतमा जानु लोकतान्त्रिक कदम हो’ : मन्त्री गुरुङ

‘संसद् पुनस्थापना हुँदैन, जनमतमा जानु लोकतान्त्रिक कदम हो’ : मन्त्री गुरुङ



गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विघटित संसद् पुनर्स्थापना नहुने दाबी गरेका छन् । अदालतले संसद् पुनःस्थापना गरेमा अलोकतान्त्रिक हुने तर्क उनले गरे ।

तनहुँको भिमाद नगरपालिका–३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलामा निर्माण हुन लागेको पक्की पुलको आइतबार शिलान्यास गर्दै मन्त्री गुरुङले सरकार अनिर्णयको बन्दी हुने अवस्था आएपछि बाध्य भएर मध्यावधि निर्वाचन घोषणा गरिएको बताए ।

‘पाँच वर्षसम्म काम गर्नलाई निर्वाचित गरिएको थियोे, त्यो अवधिसम्म काम गर्न दिनुपर्छ । भागबन्डा खोजेर पार्टीबाट नै काम गर्न नदिएपछि बाध्य भएर सरकारले संसद् भङ्ग गरेको हो’, मन्त्री गुरुङले बताए । उनले गण्डकी प्रदेश सरकार विघटन नहुनेसमेत उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणा गरेर जनताको नासो जनतालाई नै फिर्ता गरेको जिकिर गर्दै उनले भने, ‘जनमतमा जानु लोकतान्त्रिक कदम हो ।’

pict: rss