बुर्काभित्र लुकेको चाहना-सरिता अर्याल

बुर्काभित्र लुकेको चाहना-सरिता अर्याल


त्यो दिन म कामबाट र्फकंदा निकै राति भएको थियो । बसको झन्डै डेढ घन्टाको यात्रापछि म बसबाट ओर्लिएर आफ्नो डेरातर्फ पैदल जाँदै थिएँ । एउटा कालो मर्सिडिज मभन्दा अलि पर रोकियो । गाडीभित्रको उज्यालो बत्तीको कारण मैले परैबाट देखेँ त्यसमा सवार सबै कालो बुर्कामा सजिएका महिला थिए । गाडीको पछाडिको ढोका खुल्यो र एक बुर्कावाली ओर्लिइन् । त्यसपछि अर्की ओर्लंदै थिइन् उनको बुर्काको बटन टुटेको हो या गाडीमा अड्किएर च्यातिएको हो परबाट मैले थाहा पाउन सकिनँ । तर, उनको बुर्का अगाडिबाट तलदेखि माथिसम्म सबै खुल्यो । ओहो कालो बुर्काभित्रको पहिरन ! उनी बीस-बाईस वर्षकी युवती थिइन् । छ-सात इन्च जति हिल भएको रातो रंगको हिल जुत्ता उनले लगाएकी थिइन् । माथी शरीरमा रङ्गीचङ्गी पत्थर मात्र देखिने ब्रा थियो भने भित्र लगाएको पेन्टीलाई पनि ढाक्न असफल भएको ब्राकै सेटको र्स्कर्ट उनको शरीरमा थियो । म महिला भएर मलाई पनि लोभ्याउन सक्ने कामुकता उनको शरीरमा छछल्किरहेको थियो ।
बुर्का च्यातिएकोले उनले कपालमा भएको कालो कपडा निकालेर आफ्नो शरीर छोप्ने प्रयास गर्न थालिन् । पहिले ओर्लिएकी महिलाले आफ्नो बुर्का खोलेर उनको शरीरलाई ढाकिदिइन् । बुर्का खोल्ने र लगाउने काम गाडीबाहिरै एकदम छोटो समयमा नै सम्पन्न्ा भएको थियो । जुन महिलाले बुर्का खोलेर दिएकी थिइन् उनले लगाएको पहिरन पनि कम त थिएन । तर पनि उनी अलि प्रौढ थिइन् । उनी ती युवतीकी को होलिन् आमा, भाउजू सानीमा, काकी या साथी ? जो भए पनि उनले ती युवतीलाई त्यो समयमा ठूलो सहयोग भने गरेकै हुन् ।
कालो बुर्काबाहिरबाट केही देखिँदैन तर त्योभित्र त्यस्तो पहिरन लगाउनुको औचित्य के होला ? कालो बुर्काभित्र गुम्सिएर उकुसमुकुस भएको त्यो पहिरन र पहिरनबाट चियाइरहेको त्यो जवानी कहाँ देखाउने होला ? के आफुले आफैंलाई हेर्नका लागि त्यस्तो पहिरन ? यस्ता धेरै प्रश्न मनमा खेलाउँदै मैले त्यो रात काटेँ । भोलिपल्ट काममा पुगेर मैले रातिको घटना साथीहरूलाई सुनाएँ । त्यहाँ हामीबीच जे-जस्ता गफ भएका थिए त्यसमा मलाई ‘ओहो दुबई !’ भन्न बाध्य बनायो ।
दुबई मुस्लिम साम्राज्य । तर, यो अरू मुस्लिम देशजस्तो छैन । यो अति नै आधुनिकताले भरिएको छ । बजारमा देखिने विलासिताका सामान र पहिरनले त विश्वको राजधानी न्युयोर्कलाई नै यसले चुनौती दिएकोजस्तो लाग्छ । आखिर यस्ता सामानका पौरखीहरू यहाँ भएर त होला नि विश्वको सबभन्दा ठूलो मलमा गनिएको दुबई मल पनि त यहीँ छ । विलासिता र भौतिकताले भरिपूर्ण छ दुबई ।
यहाँ हरेक मुलुकका मानिस भेटिन्छन्… गोरो छाला, कालो छाला, पूर्वेली, पश्चिमेली सबै ।
यहाँ जो स्थानीय छन् प्राय: सबै पुरुष माथिदेखि तलसम्म सेतो कपडा जसलाई स्थानीय भाषामा तन्दुर भनिन्छ त्यसमा देखिन्छन् भने महिला कालो बुर्कामा । पुरुषको अनुहार ढाकिएको हुँदैन भने महिलाको आँखा मात्र देखिन्छ । तर, अरू देशका नागरिकका लागि यहाँ जे-जस्तो पहिरन पनि छुट छ । बाहिरको माहौल हेर्दा लाग्छ सेतो र कालो पहिरनभन्दा अरू पहिरनको बाहुल्य बढी छ जस्तो । तर, कानुन र नियम त यहीँको हो नि ।
पहिरन जे-जस्तो लगाउन दिए तापनि यहाँ केही पावन्दी पनि छ । आधुनिकतामा डुबेको दुबईमा बाहिर सार्वजनिक स्थानहरूमा केटाकेटीले एक-अर्कालाई चुम्मा गर्न पाउँदैन । यो यहाँको नियम हो । तर, यस्ता कुराको अग्रिम जानकारी पर्यटकलाई दिइँदैन । खास गरेर पाश्चात्य संस्कृतिमा हर्ुर्केकाहरूका लागि नमस्कारको अर्को रूप हो चुम्मा । कसले शरीरको कुन अङ्गमा चुम्मा लिने-दिने गरेको छ त्यसमा भर पर्छ उनीहरूको सम्बन्ध के हो बाबु-छोरी, दाजु-बहिनी, साथी, प्रेमिका या पत्नी । यिनीहरू एक-अर्कालाई भेट्दा चुम्माबाट एक-अर्काको स्वागत गरिरहेका हुन्छन् । तर, मिस्टर एडेनले आफ्नो साथीलाई भेटेको खुसीमा महलभित्र चुम्मा दिँदा दुबई पसेकै दिन जेल जानुपरेको थियो । दुबई घुम्न आएका एडेन जेलबाटै आफ्नो देश फर्के । यस्ता घटना धेरै घटेका छन् दुबईमा । पाहुनालाई अन्जानमै सजायको भागीदार बनाउने दुबई आफंैमा कत्तिको चोखो छ त ? दुबईभित्रको एक क्षेत्र छ- दारा जहाँ सभ्य मानिस बस्न जान पनि रुचाउँदैन । यहाँ बस्ने प्राय: मानिस शरीरको व्यापारमा संलग्न हुन्छन् भन्ने भनाइमा यहाँ प्राय: सबैको मौन स्वीकृति देखिन्छ ।
तेस्रो मुलुकबाट आएर स्वतन्त्र रूपमा व्यापार-व्यवसाय गर्ने अनुमति यहाँ दिइँदैन । यहाँका स्थानीय नागरिकलाई साझेदार बनाएर मात्र कुनै पनि व्यापार-व्यवसाय गर्न पाउँछन् यहाँ विदेशीले । यसबापत स्थानीयलाई केही नजराना दिनुपर्ने हुन्छ । स्थानीय यसै धनी छन् तेल बेचेर त्यसमाथि यस्ता बिनापरिश्रमका आम्दानी । मानिस त हो पैसा खर्च गर्ने बाटो त चाहियो नि ।
यहाँका स्थानीय व्यक्तिको पैसा खर्च गर्ने माध्यम देखिन्छ महँगा गाडी । मलभित्रको सपिङ र विलासिता । यहाँका मानिसले क्लबमा गएर खुला हातले पैसा खर्च गरेको देख्दा लाग्छ- यहाँका मानिसभन्दा धनी पनि कोही होला र विश्वमा जस्तो । यिनीहरूलाई पैसाको कुनै महत्त्व छैन । गत साल मात्र पैसामा उम्लिएका स्थानीय युवतीको एक जमातले बाटोको छेउमा उभिरहेको केटालाई किड्न्याप गरेर गाडीभित्रै पालैपालो रेप गरी मारिदिएको खबर पनि त आएकै हो नि ।
यहाँको कानुनअनुसार एक पुरुषले चार श्रीमती विवाह गर्न पाउँछन् । सबै महिला कालो बुर्कामा हुने र अरू महिलाको अनुहार पनि देख्न नपाइने भएकोले चार श्रीमतीको त अनुहार देख्न पाइन्छ भनेर यहाँका पूर्वजहरूले यो नियम बनाएका होलान् । एक श्रीमान्को चार श्रीमती भए तापनि ती श्रीमतीहरूमा सौताको सौतेनी डाहा, छटपटी केही देखिँदैन । यिनीहरू पनि श्रीमान्लाई मात्र देखाउने आफ्नो अनुहार र शरीर भए तापनि ब्युटिपार्लरमा आएर हजारौँ-हजार खर्च गर्न हिचकिचाउँदैनन् ।
श्रीमान्लाई मेहन्दी लगाएको मनपर्छ त्यसैले श्रीमान्को आँखा पर्ने र उहाँलाई मेरो मेहन्दीले लोभ्याउन सक्नेजति मेरो शरीरको अङ्गहरूमा मेहन्दी लगाइदेऊ भनेर आएकी इमिनाले आफ्नो शरीरमा लगाएको मेहन्दीको मूल्य सात हजार तिरेकी थिइन् । इमिना आफ्ना अरू तीन सौताभन्दा म श्रीमान्लाई बढी मन परोस् भनेर मेहन्दी लगाउन आए तापनि उनमा सौताको रिस र डाहा कत्ति पनि छैन । यस्तो पृथ्वीजस्तो शालीनता प्रत्येक स्थानीय महिलामा देख्न सकिन्छ । श्रीमान्लाई बाँड्नुपरेकोमा कोही पनि दु:खी छैनन् यहाँ ।
पाश्चात्य मुलुकमा सेक्स केही होइन यो प्राकृतिक देन हो भनेर लिइन्छ भने पूर्वेली मुलुकमा सेक्सलाई इज्जतका रूपमा लिइन्छ । तर, यहा सेक्स के हो यसलाई यहाँका मानिसले कसरी लिन्छन् भन्ने बुझ्न धेरै गाह्रो छ । पूर्वेली र पाश्चात्य महिलाको तुलनामा यहाँका महिलामा बढी कामुकता देखिन्छ । यिनीहरूसित गफ गर्दा लाग्दछ- यिनीहरूको चाहना पूरा हुन सकेको छैन । अझ केही उन्मुक्त भएर हिँड्न पाऊँ जस्तो गफ । यथार्थमा के त बुर्काभित्र लुकेको त्यो उत्तेजित शरीर पनि त चाहनाको प्रतिविम्ब होइन ?
खुलेर कुनै पनि लुगा लगाएर हिँड्न नपाउनु । बुर्काभित्र हराएको चाहनाको कारणले यहाँका महिलामा बढी कामुक गफ निस्किएका त होइनन् । जुन कुरा सजिलै पाइँदैन त्यसको चाहना बढी हुन्छ, त्यही त भएको होइन । आफूले आफूलाई देखाउने सेक्सी पहिरन होस् या श्रीमान्लाई रिझाउन मेहन्दीले रंगाइएको शरीर होस् चाहना त लुकेकै छ नि । यिनीहरूको चाहना खुलेर कहिले बाहिर आउला ? जे होस्, सलाम छ त्यो बुर्काभित्र लुकेको चाहनालाई ।