संसद् विघटनमा प्रचण्ड, माधव र झलनाथ पनि दोषी !

संसद् विघटनमा प्रचण्ड, माधव र झलनाथ पनि दोषी !



प्रतिनिधिसभा विघटनको विरोधमा डडेल्धुरा काङ्ग्रेसद्वारा विरोध प्रदर्शन

डम्बर निदाल, डडेल्धुरा

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काङ्ग्रेस डडेल्धुराले विरोध प्रदर्शन गरेको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा केपी ओली नेतृत्वको सरकारले अराजनीतिक, अप्रजातान्त्रिक र अनैतिक प्रवृत्ति देखाउँदै संसद विघटन गरेको भन्दै हजारौँ नेता–कार्यकर्ता सडकमा उत्रिएका थिए ।

प्रधानमन्त्री केपी ओलीले एकाधिकारवाद लादेको र जनताका अधिकार कुल्चँदैे जनताले दिएको स्पष्ट जनादेशको अपमान गरेको, भ्रष्टाचारमा मुछिएको, हत्याहिंसा बलात्कारको संरक्षक बनेको र समृद्धिको नाममा नेपाली जनतालाई धोका दिएको आरोप उनीहरूले लगाए ।

कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महर, आमन्त्रित केन्द्रीय सदस्य जनक कलौनी, संविधानसभाका पूर्वसदस्य नरभान कामी, जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदश्य कर्णबहादुर मल्ललगायतका नेताहरूले विरोधसभामा सम्बोधन गरेका थिए ।

सदरमुकामको तुफानडाँडा चोकबाट शुरु भइ बजार परिक्रमा गर्दै शहीद भीमदत्त चौकमा कोणसभामा परिणत भएको विरोध कार्यक्रममा संसद विघटन प्रकरणमा केपी ओली मात्र नभइ पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पनि दोषी रहेका वक्ताहरूले बताए ।

सम्बोधनका क्रममा नेताहरूले पार्टीको आन्तरिक कलह तथा पद-प्रतिष्ठा र पैसा कमाउने भागबण्डा नमिल्दा देशले यो दुर्गति ब्यहोरेको उल्लेख गरे । साथै व्यक्तिबादी प्रवृत्तिका कारण धरापमा परेको लोकतान्त्रिक संविधानमा भएको प्रहार नसच्चिएसम्म आन्दोलन जारी रहने उनीहरूको उदघोष थियो ।

डडेल्धुरामा नेपाली काङ्ग्रेसको प्रदर्शनका केही झलक :