राजविराज । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक परिवर्तन र गरिबी न्यूनीकरणमा सहकारी क्षेत्रले उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको गुनासो पोखका छन् ।
जिल्ला सहकारी संघ सप्तरीको १२औँ साधारणसभाको बिहीबार राजविराजमा उदघाटन गर्दै मन्त्री साहले भने, ‘सहकारी संस्थामार्फत जुन ढंगले सामाजिक परिवर्तन, रोजगारी सृजना र गरिबी न्यूनीकरण हुनुपर्थ्यो त्यो हुन सकेको छैन ।’
प्रदेशभित्र रहेका सहकारीहरुलाई प्रभावकारी बनाउन प्रदेश सरकारले सहकारी ऐन प्रदेशसभामा ल्याएको जानकारी दिँदै मन्त्री साहले प्रदेशसभा सञ्चालन भएपछि एक साताभित्र उक्त ऐन पास हुने दाबीसमेत गरे ।
प्रस्तावित ऐनमा सहकारीहरुलाई सुचीकृत गरी झोले सहकारीहरु खारेजीको व्यवस्थासमेत गरिएको जानकारी दिँदै मन्त्री साहले सहकारीहरुलाई आत्मनिर्भर बनाउन सिरहाको गोलबजारमा प्रदेशस्तरीय सहकारी तालिम केन्द्र स्थापना गर्न लागेको जानकारी दिए ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपपाध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रलाई बलियो बनाउन सहकारीहरुबीच एकीकरण हुनुपर्नेमा जोड दिँदै प्रदेश २ र कर्णाली प्रदेशमा सहकारीको अवस्था कमजोर रहेकाले यी दुई प्रदेशमा सबैभन्दा बढी गरिबी रहेको धारणा राखिन् ।
जिल्ला सहकारी संघका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा त्रियुगा सहकारी अध्यक्ष शम्भुबहादुर खड्का, जनमुखी स्वास्थ्य सहकारीका सचिव माला कर्ण, जनता समाजदावी पार्टीका प्रदेश सचिव दिनेशकुमार यादव, राजविराज नगरपालिका वडा नं. १५ का अध्यक्ष रामप्रसाद यादव, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, पत्रकार सुरेन्द्र गुप्ता लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया