पेनगुइन बनेर गुजारेको त्यो रात

पेनगुइन बनेर गुजारेको त्यो रात


यसपटक ‘पुलिस डे’को उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा म पनि रात्रिभोज खान र सांस्कृतिक कार्यक्रम हेर्न क्लब पुगेँ । क्लबमा पुग्दा सेता सेरेमोनियल ड्रेसमा सयौँ प्रहरी अधिकृतलाई देखेँ । भित्र जाँदा कार्यक्रम थियो त्यहाँ ती सबै अधिकृत बस्न सक्ने अवस्था पनि थिएन । सायद त्यसैले होला सयौँ अधिकृत कार्यक्रमस्थलमा पुग्न र बस्न नपाई बाहिर चौरमा झुन्ड-झुन्ड भएर खुल्ला आकाशमुनि उभिएका देखिन्थे ।
त्यस दिन अधिकृतहरू झुन्ड-झुन्डमा बसी रातमा आकाशमुनि उभिएको देख्दा मलाई पनि आफ्नो पुरानो दिनको सम्झना भयो । ०४० सालमा म इन्सपेक्टर भएर निस्कँदा त्यतिबेला इन्सपेक्टर भनेको ठूलै पदझैं लाग्थ्यो । अहिलेको जस्तो पुलिस डेमा नभई त्यतिबेला राजाको जन्मोत्सवमा समारोह हुन्थ्यो । हामीहरू इन्सपेक्टर हुँदा पाहुनाका साथै क्लबको हलभित्र हामीहरू पनि अटाउँथ्यौँ, अझ हाम्रा श्रीमतीहरूले पनि क्लबभित्र बसेर कार्यक्रम हेर्न पाउँथे । राजालाई खाना र्सभ गर्नेहरू पनि इन्सपेक्टरहरू नै हुन्थे । ०४५ सालसम्म पुग्दा डीएसपीसम्म मात्र अटाउने इन्सपेक्टरलाई चाहिँ उभिएर कार्यक्रम हेर्नुपर्ने अवस्था आयो । ०४८ सालपछि त हेर्दाहेर्दै डीएसपी पनि बाहिर बस्नुपर्ने स्थिति भयो । अब क्लबभित्र छिरेर मेच पाउन पनि एसपी हुनुपर्ने अवस्था आयो ।
माओवादी यूद्ध सुरु भएपछि दरबन्दीहरू प्रशस्त बढ्न थाल्यो । ०५५ सालतिर जस्तो लाग्छ, म एसपी हुँदा पुलिस क्लबमा एसपी पनि भित्र छिर्न नपाउने भइसकेको रहेछ । पुलिस क्लबमा कार्यक्रम हुदाँ एसएसपीसम्म मात्र भित्र जान पाइने र यसबाहेक ड्युटीमा परेको मानिसबाहेक अन्य एसपी भित्र जान नपाउने उर्दी नै तत्कालीन आईजीपीले जारी गर्नुभयो ।
मलाई त्यस दिन एसपी मात्र भएका कारण जाडो याममा क्लबभित्र छिर्न नपाई सेरेमोनियल पोसाकमा रातमा खुला आकाशमुनि टेनिस ग्राउन्डमा दुई घन्टा बिताउन साह्रै गाह्रो भयो । एक मनमा त लाग्यो क्लब छोडेर घर जाऊँ । फेरि अर्को मनमा लाग्यो घर गएको थाहा पाएर फेरि हाकिमले ग्रेड रोक्का गर्लान् । फेरि घर जाऊँ नै भने पनि खाना बनाउनु भनेको थिएन । घरमा त आज क्लबमा भोज छ भनेर फुर्ती दिएर आइसकेको हुँदा फेरि लुत्रुक्क परेर जानु पनि भएन । क्लबभित्र त कोइलाहरू बाली गरम पनि गरिएको थियो । बाहिर पालमा भएको एक-दुईवटा ड्रममा बनाइएका मकलमा आगो ताप्न थालेँ । म एसपी नै बाहिर भएपछि मभन्दा मुनिका त त्यहाँ हुने नै भए । हावा-हावाको कुरा गरेर एकछिन् बिताएँ । त्यसपछि क्लब पछाडि खाना पकाउने ठाउँमा पुगी चाख्छु भन्दै एउटा चिकेनको फिलो फुत्काएँ र भोक केही शान्त गरेँ । कार्यक्रम सिद्धिने टुङ्गो थिएन र सब पाहुनाले खाना खाने त झनै टुङ्गो थिएन । रातको बाह्र नबजी आफ्नो दर्जाले खाना खान पाइएलाजस्तो पनि लागेन । क्लबभित्र सांस्कृतिक कार्यक्रम हेर्न जबर्जस्ती नै पसिदियौँ र आफूलाई जाडोबाट बचाऊँझैं पनि लाग्यो तर फेरि ग्रेड रोक्काको डरले सतायो ।
ज्यादै जाडो बढेकोले अधिकृतहरू सेता कोट नीलो पिक्याप र पाइन्टमा नजिकनजिक कुप्रिएर लगभग जोडिएझैं गरी बसेका थिए । मलाई अधिकृतहरूको झुन्ड-झुन्ड देखेर उत्तरी ध्रुवको हिमाली भेगमा पाइने पेनगुइन भन्ने चराको सम्झना आयो । सेता पखेटा, कालो सिर र खुट्टा । एकै ठाउँमा जोडिएर बसेका र जाडोले मुखबाट वाफ निकालिरहेका । कसले के कुरा गर्दै छ त्यो पनि नबुझिने । पेनगुइन चरो सम्झनेबित्तिकै मेरो मुखबाट बेस्सरी हाँसो फुस्किएछ । म रातमा सन्नाटा चिर्नेगरी गजबसँग एक्लै हाँसेँ, हाँसिरहेँ । हिक्का छोडी-छोडी हाँसेँ । सायद देख्नेले मलाई रक्सी लागेछ भन्ठाने होलान् तर म भने आफूलाई हाकिमहरूले पेनगुइन हुन बाध्य बनाएको सम्झेर हाँसिरहेको थिएँ ।
किन-किन त्यस दिन एसपीलाई भित्र छिर्न नदिइएको कुरा मलाई पटक्कै पचिरहेको थिएन । म सोच्थेँ- इन्सपेक्टर हुँदा म जहाँ छिर्न पाउँथे त्यहाँ झन् एसपी भएपछि झन छिर्न पाइनँ । एकपटक मैले बाहिर पेनगुइनको सदस्य भएर रहेका आफूजस्तै अरू जुनियर-सिनियर साथीहरूको अनुहार हेरेँ । सब मुखबाट वाफ निकालेर दुई हात रगड्दै थिए । त्यहाँ उपस्थित धेरै अधिकृतले त्यस कुरालाई अपमानको रूपमा नलिई बाध्यताको रूपमा बुझेको र ग्रहण गरेको पाइन्थ्यो, तर मेरो दिमागमा भने अर्कै कुराले घर बनाइरहेको थियो । मैले त्यसै दिन निर्णय गरेँ- यदि म आईजी भए वा मैले सकेँ भने यस ठाउँमा यति ठूलो अन्तर्राष्ट्रिय समारोह स्थल बनाउँछु कि जहाँ हरेक प्रहरी अधिकृत सम्मानका साथ आफ्ना श्रीमती र अन्य परिवारसँग बसेर प्रहरीका कुनै पनि समारोहमा भाग लिन पाऊन् ।
त्यस दिनपछि पुलिस क्लबको अहिलेको सबै भौतिक संरचना भत्काई त्यहाँ अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने कुरा मेरो दिमागमा छाउन थाल्यो । ०५८ सालतिर मैले एसएसपी हुँदा आईजीपी प्रदीपशमशेर राणाको पीए हुने मौका पाएँ । मैले सोचेँ- भोलि म माथि पुग्छु-पुग्दिनँ कुन्नि त्यसैले यो काम अहिले गराउनुपर्छ । त्यसैले यही सोचेर आईजी प्रदीपशमशेर राणाको केही नयाँ काम गरेर विभागलाई दिने जुन चाहना थियो त्यस सोचमा मैले पुलिस क्लबमा विशाल सभास्थल बनाउने प्रस्ताव पनि अगाडि सारेँ । मैले उहाँलाई भने, ‘त्यो जमिन ज्यादै राम्रो ठाउँमा छ । त्यहाँ पुराना घरहरू भत्काऊँ, विशाल सभाहल बनाऊँ जहाँ एकैपल्टमा धेरै समारोह चल्न सकोस् । त्यो हल आफूलाई नचाहिँदा भाडामा दिऊँ । हेल्थ क्लबलाई पनि त्यसैको हिस्सामा जोडौँ ।’ प्रदीपसर सकारात्मक हुनुभयो । इन्जिनियरहरूले त्यसमा काम गर्न थाल्नुभयो । नेपालका चर्चित आर्किटेक्चर रञ्जनसिंह शाहले त्यसमा काम सुरु गर्नुभयो । कल्याणको पैसा लगाई त्यसबाट राम्रो कमाई हुने अवस्था पनि थियो । काम जोडतोडले अगाडि बड्दै थियो राणा अवकाश हुनुभयो र श्यामभक्त थापा प्रहरी प्रमुख बन्नुभयो । उहाँका पालाका अर्का हर्ताकर्ता एआईजी राजेन्द्रबहादुर सिंह हुनुहुन्थ्यो । श्यामभक्त थापा आउनेबित्तिकै त्यो योजना तुहियो । श्यामभक्त थापाको सोचले यो कुरा भ्याउनेवालै थिएन । उनले कल्याणको पैसाले हाइटीमा हतियार र साधन किनी थुप्रै व्यक्तिगत पैसा बनाए तर उनको पालाभरि पनि अधिकृतहरू क्लबको समारोहमा पेनगुइन बनिनै रहन बाध्य भए ।
श्यामभक्त थापाको पालो त मेरा लागि प्रहरी सेवाबाट टाढै रहने समय बन्यो । एकैपल्ट रमेश चन्द आईजीपी भएपछि म क्लबको कुनै समारोहमा पुगेँ । यसपटक पुलिस डे मनाउने महिना पहिलेझैं जाडो याम नभएकोले आगोनजिक अधिकृतहरू मुखबाट वाफ निकाल्दै बसेकाचाहिँ देखिनँ तर बथानका बथान भएर पेनगुइनझैं बाहिर बस्नुपर्ने बाध्यताचाहिँ अझै उस्तै नै रहेछ । मैले रमेश चन्दज्यूलाई तत्कालै एउटा समारोह हल बनाउन सल्लाह दिएँ । मेरो सल्लाहले काम गरेन । यसपटक रवीन्द्रप्रताप शाहज्यूको व्यक्तिगत आमन्त्रणामा फेरि पुलिस डेको अवसरमा क्लबमा जाने मौका पाएँ । व्यक्तिगत किन भनेको भने भूतपूर्वमा पनि एसएसपीसम्म त्यहाँ नअटाउने भइसकेका रहेछन् र आईजीपीको इन्सपेक्टर हुँदा एउटै ब्याचको साथी भएकाले मात्र मैलेचाहिँ छिर्न पाएको रहेछु ।
जसै म क्लबमा पुगेँ मुख्य हलबाहिर कुनै बेला म पेनगुइन भएर बस्ने गरेको स्थानमा आँखा परिहाल्यो र मैले त्यो स्थानमा अझै धेरै पेनगुइन भएर बस्नेहरूको बथान बढेको पो देखेँ । अझ नयाँ कुरा त्यस हुलमा डीआईजीसम्म पनि उभिनुपर्ने अवस्था आएछ । त्यो देख्दा मलाई ज्यादै नरमाइलो लाग्यो । मैले सोचेँ- जो प्रहरी हाकिमहरूभित्र छन् तिनलाई बाहिरका पेनगुइनबारे थाहै छैन र जो बाहिर छन् तिनले भित्र छिर्न पाउनेबित्तिकै बाहिरको अवस्था बिर्सिहाल्छन् । अब कसले वनाउलान् त सबै अटाउने नयाँ सभाहल -।
म पाहुना भएकोले हलभित्र छिरेँ । निक्कै पछि एक साधारण मेचमा पूर्व प्रहरी प्रमुख श्यामभक्त थापालाई एउटा साधारण स्टिलको मेचमा बसेको देखेँ । उनलाई देखेर मैले सोचेँ- आफू प्रमुख भएको बेलामा प्रदीपशमशेरले सुरु गरेको नयाँ सभाहल बनाउन रोक्ने व्यक्ति यिनै थिए त्यसैले होला आज उनी थोत्रो क्लबको पछाडि रोमा बस्न बाध्य छन्, खुच्चिङ !
मैले बल्लबल्ल अन्तिम रोमा बस्ने ठाउँ पाएँ । चल्न धेरै हुन्थेन नत्र मेच तल र्झन सक्थ्यो र आफू घाइते हुने सम्भावना पनि थियो । चलहल नगरी मेचमा बसेर चारैतिर त्यो बूढो क्लबलाई हेरेँ । ०२७ सालमा बनेको त्यो क्लब निक्कै थोत्रो र साँघुरो भइसकेको छ । विभूतिहरू, लालीगुराँस र गाईको फोटोमार्फत सजाउन खोजिए पनि त्यो शृङ्गार बूढी आइमाईले लिपिस्टिक लाएझैं मात्र देखिन्थ्यो ।
मलाई त्यस दिन पनि समयसँगै प्रहरीलाई एक विशाल सभाभवनको आवश्यकता भइसकेको फेरि महसुस भयो । सांस्कृतिक कार्यक्रमको गीतको बोल पटक्कै बुझिको थिएन । त्यो थोत्रो हलले गर्न नै के सक्थ्यो र । मेरोनजिकै हालका एआईजी नवराज ढकाल उभिनुभएको थियो । मैले उहाँको काननजिक आफ्नो मुख लगेर भने, ‘यो क्लब भत्काएर नयाँ बनाउनु है ।’ उहाँले बुझनुभयो वा बुझनुभएन तर मुसुक्क हाँस्नुभयो, बदलामा म पनि मुसुक्क हाँसेँ । मैले सोचेँ- मेरो काम भन्ने हो । गर्न पाएको भए म यो काम गर्थें । गर्ने ठाउँमा पुगिनँ, त्यसैले गरिनँ । जसले गर्न सक्छन् तिनलाई भन्न किन कन्जुस्याइँ गर्नु ? मेरो भित्री इच्छा अहिले पनि यही छ कि प्रहरीले गरेको समारोह कम से कम धेरै प्रहरीले त हेर्न पाउनुपर्छ र त्यसका लागि समयअनुरूपकै विशाल, नयाँ र आधुनिक सभाहल त्यहाँ बन्नैपर्छ ता कि प्रहरी कर्मचारी कमसेकम आफ्नै कार्यक्रम हेर्न नपाई खुला आकाशमुनि पेनगुइन भएरचाहिँ बस्न नपरोस् ।