टोकियोमा संक्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गर्ने तयारी

टोकियोमा संक्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गर्ने तयारी



विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको राजधानी टोकियो तथा साइतामा प्रिफेक्चरमा पछिल्लो समय तीव्र रुपले बढेको कोरोना संक्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गर्ने तयारी गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका हरसम्भव प्रयास गरिरहेको टोकियो महानगरकी गभर्नर युरिको कोइकेले टोकियोमा संक्रमण अब लगभग नियन्त्रणबाहिर जान लागेको ठहर गर्दै आपतकालिन अवस्था घोषणा गर्नका लागि केन्द्र सरकारसमक्ष औपचारिक अनुरोध गर्न लागेको जापानी समाचार माध्यमहरुमा समाचार प्रकाशन भएका छन् । समाचारअनुसार गभर्नर कोइकेले आज (२ जनवरी) दिउँसो आर्ब पुनरोद्धार मन्त्री यसुतोशी निशिमुरालाई भेटी आपतकाल घोषणाको अनुरोध गर्नेछिन् ।

टोकियोमा पछिल्ला दिन अत्याधिक संक्रमण बढेको छ । दैनिक थोरैमा पनि ७–८ सय जनाको दरले नयाँ संक्रमित पुष्टि हुँदै आएको छ । जसका कारण टोकियो अधिकांश अस्पतालका शैय्याहरु भरिने अवस्थामा पुग्नै आँटेको छ । डिसेम्बर ३१ तारिख एकैदिन १,३३७ जनाको उच्च संक्रमण पुष्टि भएको थियो भने टोकियो हालसम्म संक्रमित संख्या ६० हजार ९ सय ६० जना पुगेको छ।