कङ्गोको संवेदनशील बुनिया क्षेत्रमा नेपाली शान्ति सैनिकको पुनः तैनाथी
नेपाली सेनाको पेशागत क्षमताको उच्च मुल्याङ्कन गर्दै संयुक्त राष्ट्र संघले पुनः चुनौतीपूर्ण जिम्मेवारी सुम्पिएको नेपाली सेनाले जनाएको छ ।
करिव १७ वर्षअघि कङ्गोको उत्तरी भेगमा रहेको बुनियामा हेमा र लेण्डु जातिबीचको हिंसाका कारण सुरक्षा अवस्था भयावह भएपछि नेपाली शान्ति सैनिकलाई पहिलोपटक उक्त क्षेत्रमा तैनाथ गरिएको थियो । त्यसपश्चात सुरक्षास्थितिमा सुधार आएपछि नेपाली शान्ति सैनिकहरू द्वन्द्वग्रस्त कङ्गोको मध्य क्षेत्रस्थित वेनी इलाकामा र गत केही वर्षदेखि दक्षिणी क्षेत्रमा रहेको बालुगुं इलाकामा तैनाथ भएका थिए । विगत केही महिनादेखि कोडेको नामको विद्रोही समुहले बुनिया क्षेत्रमा हिंसा मच्चाएपछि नेपाली शान्ति सैनिकलाई बालुगुंबाट सात सय किलोमिटर उत्तरदेखि स्थानान्तरण गरी पुनः बुनिया क्षेत्रमा तैनाथ गरिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार कङ्गोको इटुरी क्षेत्रका मेयर जीन वमाइन्सा साइडीले उक्त क्षेत्रमा तैनाथ भवानीदल गणका गणपति प्रमुख सेनानी प्रभाकर खड्कासँग भेट गरेका छन् । उक्त भेटघाटमा नेपाली शान्ति सैनिकको बुनिया क्षेत्रमा भएको आगमनले स्थानीय जनता हर्षित एवम् आफ्नो सुरक्षामा आश्वस्त भएको तथा त्यस क्षेत्रको सुरक्षा स्थितिमा सुधार आउनेमा आफू विश्वस्त रहेको धारणा मेयर साइडीले व्यक्त गरेका छन् ।
भेटवार्तामा उनले विगतमा इटुरी क्षेत्रको बुनियालगायत फताकी, अभेवा, बोगोरो इलाकाहरूमा क्रियाशील तत्कालिन विद्रोही समुहहरूका विरुद्ध नेपाली शान्ति सैनिकले सञ्चालन गरेको विभिन्न सफल सैनिक कार्वाहीहरूको स्मरण गरेका थिए ।
कङ्गोस्थित संयुक्त राष्ट्र संघीय मिशनको उच्च नेतृत्वले विगतमा नेपाली शान्ति सैनिकले यस क्षेत्रमा छाडेको राम्रो छाप र जितेको विश्वासको परिणामस्वरुप नेपाली शान्ति सैनिकलाई पुनः त्यस क्षेत्रमा तैनाथ गराइएको जनाएको छ ।
ज्ञातव्य छ, सन् २००५ मा सोही क्षेत्रमा मानवअधिकार हननसम्बन्धी अनुसन्धानमा खटिएको संयुक्त राष्ट्रसंघको टोलीलाई विद्रोहीहरूको आक्रमणबाट जोगाउने क्रममा सेनानी कविन्द्रजंग थापाले वीरगती प्राप्त गरेका थिए । सेनानी थापाको बहादुरी एवं कर्तव्यपरायणताको संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव वान की मुनलगायत अन्तराष्ट्रिय समुदायले खुलेर प्रशंसा गरेका थिए ।
प्रतिक्रिया