बाघले झम्टिएर लगेको महिलाको खोजी जारी

बाघले झम्टिएर लगेको महिलाको खोजी जारी



पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभारनजिक मोटरसाइकलमा सवार हुँदै गर्दाको अवस्थामा एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ ।

कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले आक्रमण गरी लिएर गएको निकुञ्जले जनाएको छ ।

आफ्नो छोराको साथ मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ ।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

यो समाचार तयार पार्दासम्म महिलाको अवस्था पत्ता नलागेको जानकारी दिँदै उहाँले अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाइने जानकारी दिए ।