प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थलको काम प्रभावित

प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थलको काम प्रभावित



पुनहरि बेल्बासे, भैरहवा

निर्माणाधीन गौतमबुद्ध विमानस्थल भैरहवाको काम प्रभावित भएको छ । चाइनाबाट आउने प्राविधिक टोली नेपाल आउन नसक्दा काम प्रभावित भएको हो । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ । तर, कोरोना भाइरसको संक्रमण बढेसँगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन सकेका छैनन् । जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम प्रभावित भएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।

टर्मिनल भवनमा ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्टका साथै धावन मार्गमा बत्ति जडान गर्नुपर्ने थियो । कोरोना भाइरसका कारण चिनियाँ दक्ष जनशक्ति नेपाल आउन नसक्दा काम प्रभावित बनेको हो ।

विमानस्थलको रनवे, ट्याक्सी पार्किङ काम सम्पन्न भए पनि टर्मिनल भवनमा एयरकन्डिसनर जडानको काम हुन सकेको छैन । एयरकन्डिसनरको काम सम्पन्न नभएसम्म फरसिलिङको काम गर्न नमिल्ने भएकोले अलपत्र अवस्थामा नै छ । भवनमा लिफ्ट पनि जडान गर्नुपर्ने छ, तर दक्ष प्राविधिकको अभावले काम रोकिएको योजना प्रमुख भण्डारीले बताए ।

चीनबाट आउने प्राविधिकटोली कोभिड १९ सङ्क्रमित चढेको गाडीमा आएकोले चीनकै एयरपोर्टको आइसोलेसनमा रहेकोले केही दिन काम गर्न ढिलाइ हुने प्रमुख भण्डारीले जानकारी दिएका छन् । गौतमबुद्ध विमानस्थलमा हालसम्म ९४ प्रतिशत निर्माणको काम सम्पन्न भएको प्रमुख भण्डारीले जानकारी दिएका छन् ।