बूढीगण्डकी तर्ने क्रममा काठेसाँघुबाट खसेर बालक बेपत्ता

बूढीगण्डकी तर्ने क्रममा काठेसाँघुबाट खसेर बालक बेपत्ता



गोरखाको चुमनुब्री गाउँपालिका-५ बिही, बुरका एक बालक काठेसाँघुबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो ।

सो दिन बिहान करीब १०ः३० बजे गाउँपालिका-४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।

बूढीगण्डकीमाथि दुई मुढा तेर्स्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासी नदीमा खसेको उनका बुबा मिङ्युर दोर्जेले जानकारी दिए । ‘काठे पुलमा एकैचोटि दुई जना तर्न नमिल्ने भएकाले म पहिले पुल तरेर पारि गएँ’, उनले भने, ‘छोरो पछिपछि आउँदै थियो तर एक्कासि नदीमा खस्यो ।’

छोरा नदीमा खसेपछि बचाउन भनी आफू पनि बूढीगण्डकीमा हेलिए पनि भेटाउन नसकेको र पानीले आफूलाई धेरै तल पुर्‍यएर पाखामा हुत्याइदिएपछि बाँचेको उनको भनाइ छ । बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिएका छन् ।