प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षको रुपमा राजधानीबाहिर पहिलोपटक शुक्रबार जनसभालाई सम्बोधन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धनगढीमा बुधबार आयोजित सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले पार्टीको खाताबाट नगद झिकेर हिनामिना गरेको आरोपमा नेकपा दाहाल-नेपाल समूहका नेता डा. भीम रावललाई कारबाही गर्न सिफारिश गरेको छ । रावल नेकपा दाहाल-नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज हुन् ।
रावलसहितका केही पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको खाताबाट रावलले ३० लाख नगद झिकी हिनामिना गरेको सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

बताइएअनुसार सो पार्टीको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।
प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा आयोजित बैठकले यही पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई सम्बोधन गर्नुहुने भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनावद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको बताइएको छ ।
प्रतिक्रिया